जिमको यात्रा स्टेरोइडको व्यापार

Rate this item
(0 votes)

व्यायामशाला वा जिम, स्वस्थ रहन चाहनेहरुको लागि एउटा मंदिर हो । फलामलाई पुज्ने ढोग्ने हाम्रो सँस्कृति नै छ । अझ भनौं व्यायाम शुरु गर्नु अघि फलामलाई छोएर हात निधारतिर लम्काउँदै उक्त मेसिनलाई ढोगेर सम्मान गरेको प्रतिकात्मक छनक दिन्छौं हामी । यस्तो चलन संसारको कुनै पनि जिममा बिरलै देख्न पाइन्छ । जसरी विद्ध्यालयमा शिक्षा हासिल गर्न गइन्छ त्यसरी नै स्वस्थ, बलियो र तन्दरुश्त हुन जिम गइन्छ, व्यायाम गरिन्छ ।

कसैको पनि जिमको यात्रा सरल हुँदैन, कोही पनि दुःख कष्ट नगरी स्वस्थ रहन सक्दैन । हामी यस्तो समाजमा हुर्केका छौं कि शिक्षा हासिल गर्न बाबुआमाले राम्रो बिद्ध्यालय भर्ना गरिदिन्छन् तर स्वस्थ रहन जिम भर्ना हुन तिनै बाबुआमाको आँखा छलेर जानु पर्ने बाध्यता छ । कति कठीन छ जिमको यात्रा कुरै नगरौं, युवा अवस्थामा जिम भर्ना हुनलाई नै धेरै संघर्ष गर्नुपर्छ, अझ बाँकी संघर्ष त व्यायाम गर्नु छ, ज्यान बनाउनु छ अनि स्वस्थ हुनु छ । युवा अवस्थामा अरुको ज्यान देखी लोभिएर अलि अलि ज्यान फुलाउनको लागि हर कठिनाईं पार गरी जिम भर्ना भएर व्यायाम गर्दै आएका हौं प्राय हाम्रा पुस्ताका युवाहरु ।

निरन्तर व्यायाम, पौष्टिक आहार अनि अधिक अनुशासनसँगै ज्यान पनि बनेको हुन्छ, बदलिएको हुन्छ । शरीर अलि राम्रो हुँदै गएपछि प्रतियोगीतामा भाग लिने रहर जागेर आउँछ (प्राय सबैलाई हुन्छ), हारे फेरि कोशिस गरी जित्नै मन लाग्ने हुन्छ । प्रतियोगीताको तयारीमा कठोर परिश्रम र अनुशासनको साथै संतुलित खानपिन अनि विभिन्न सप्लिमेन्टको उपयोग गर्दै प्रतियोगीताको मञ्चमा उत्रिएको हुन्छ । प्रतियोगीता भन्ने बित्तिकै प्रतिस्पर्धा हुन्छ, हार जित हुन्छ । यसरी जित्नै पर्ने होडमा १५-१६ वर्ष अघि देखि हाम्रो बडिबिल्डिङ क्षेत्रमा पनि स्टेरोइडको प्रयोग राम्रै सँग मौलाएको छ । मांशपेसी बढाउने, बोसो घटाउने, शरीरबाट पानी निकाल्ने, शरीरको नसा फुल्लाउने लगायत अनेक खालका ड्रग्स (स्टेरोइड) केहि वर्ष यता हाम्रो बजारमा दुई दुगुना रात चौगुना भएर मौलाएको अनुमान सजिलै लगाउन सकिन्छ । हामी कहाँ हुने कुनै पनि प्रतियोगीताले स्टेरोइडको प्रयोगलाई बर्जित गरेको छैन र परीक्षण गर्ने परिपाटी नै नभएको कारण के कति यसको प्रयोगकर्ता छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था छैन तर प्रयोग गर्नेको र नगर्नेको भिन्नता उनीहरुलाई निरिक्षण गर्ने निर्णायकहरुले सजिलै निर्क्यौल गर्न सक्छ । स्टेरोइड प्रयोग गरी उपाधी हासिल गरेर "मैले स्टेरोइड प्रयोग गरेकै छैन" भने पनि पत्याउनै पर्ने अवस्था सिर्जना भएको छ ।

जिम यात्राको पहिलो खुड्किलो पार गर्दै एउटा प्रबल र अब्बल खेलाडी बने पश्चात यसै क्षेत्रमा टिकिरहन खेलाडी उद्दमी बन्दछ । आफ्नो छर छिमेक र समाजलाई स्वस्थ बनाउने नारा बोकेर जिमको व्यवसायमा हात हाल्दछ । जिमको सदस्यता बढ्दै जाँदा सप्लिमेन्टको व्यापार पनि थप्दै जान्छ । आज व्यायामको दुनियाँमा सप्लिमेन्टको उपयोगिता अपरिहार्य बनिसकेको छ र यो स्तम्भको आसय सप्लिमेन्टको खण्‍डनमा आधारित पक्कै छैन । यसरी स्वस्थ हुने चाहना हुँदै, बलियो ज्यान बनाउँदै, प्रतियोगीताको लागि मानसिकताको विकास गर्दै जसरी पनि जितेर अब्बल बनाउने/नाम कमाउने सपनाले एउटा बडिबिल्डर स्टेरोइडको प्रभावमा लोभिन्छ, फस्छ । यही एउटा स्वस्थ हुने चाहना र नाम कमाउने बहानाको दूरीमा टेकेर स्टेरोइडको व्यापारको शुरुवात हुन्छ ।

जसले पहिले प्रयोग गर्‍यो उसले अर्कोलाई सिकायो, अर्कोले अर्कोलाई सिकाउँछ, अनि अर्को, अनि फेरि अर्को हुँदै यसको प्रयोग र व्यापारको डोरी तन्किंदै जान्छ, गएको छ । स्टेरोइडको प्रयोग नेपालमा कानूनीरुपमै बैध छ वा अबैध छ, यस क्षेत्रका प्राय सबै अनभिज्ञ छन् । यो कहाँबाट आउँछ, कुन गुणस्तरको आउँछ केवल बेच्नेलाई मात्र थाहा हुन्छ । यति कुरा अनुमान लगाउन सकिन्छ कि स्टेरोइड प्रयोग गरी आफ्नो ज्यान बनाएर पूरै देशलाई नै चकित पार्ने व्यक्तिहरु नै बढि अनुभवी हुन्छन् र अरुलाई परामर्श दिन सक्ने क्षमता राख्दछन् । सम्भवतः उपलब्ध गराउन सक्ने क्षमता पनि राख्दछन् । लुकीछिपी बेचबिखन हुने भएकोले यसको मूल्य कति पर्छ भन्ने किटान गर्न निकै मुश्किल छ र त जतिमा बेचे पनि ज्यान बनाउने र नाम कमाउने चाहना भएपछि जति मूल्य पनि चुकाउन अग्रसर हुन्छ । यसरी जिम जस्तो मंदिर भित्र स्वास्थ्यको लागि प्रेरणा दिएर समय खर्चिनु भन्दा छिटो छरितो नतिजा दिलाउने खालको स्टेरोइडको व्यापार गर्दा छोटो समयमा ज्यान बनाइदिने ट्रेनर भनेर पनि नाम कमाउने र चाँडै दाम कमाउन सकिने भएर पनि यसतर्फ लालायीत भएको हुनुपर्छ ।

संसारका थुप्रै प्रोफेसनल बडिबिल्डरहरु स्टेरोइडको व्यापक प्रयोगको कारण अल्पायुमै ज्यान गुमाएको समाचारहरु हामीले नसुनेका होइनौं र यिनै बडिबिल्डरहरुले स्टेरोइडको प्रयोग बाट टाढा रहन सुझाएका संदेशहरु पनि चाल नपाएका होइनौं । यसरी यस्तो वस्तु शारीरिक तथा मानसिक स्वास्थ्यको लागि नै हानिकारक छ भन्ने थाहा हुँदाहुँदै पनि यसको प्रयोग र व्यापारमा रमाउन खोज्नु भोलि पूरा देशका युवाहरुको मानसिकतामा नै खलल पुर्‍याउने र स्वास्थ्यमा असर गर्ने गम्भिर खतरालाई चुल्है निम्तो पठाउँदै छौं हामी । हिजो जिम भन्ने बित्तिकै स्वास्थ्यको लागि मंदिर भनिन्थ्यो, भोलि गएर यही जिम स्टेरोइड र सुईको कुना भनेर नचिनियोस् । हाम्रो पुरानो उक्ती पशुपतिको यात्रा सिद्राको व्यापार भने जस्तै "जिमको यात्रा स्टेरोइडको व्यापार" भनेर नयाँ उखान नबनोस् । हामी सबै सचेत होऔं ।

जय बडिबिल्डिङ ।

-संजित श्रेष्ठ


यो लेख ईनेपल.न्यूजमा पनि प्रकाशित भएको छ ।

जिम बेल्ट के कसरी प्रयोग गर्ने बारे थाहा पाउन तलको भिडियोमा क्लिक गर्नुहोला ।