Print this page

शरीर र बाँझो खेत उस्तै उस्तै

Rate this item
(4 votes)

व्यायाम गरी शरीर बनाउनु र बाँझो खेतमा बाली उब्जाउनु उस्तै उस्तै हो । हाँसो लाग्दो हो यस्तो कुरा सुनेर तपाईंहरुलाई । ल सुन्नुहोस ! वर्षौं बाँझो बसेको खेतमा उब्जनी गर्ने सोंच आउने बित्तिकै त्यो सुकेको माटोमा हलो जोतिन्छ, कोदालोले खनिन्छ या ट्रयाक्टर चलाइन्छ । हैन त ? यसरी कहिल्यै पनि व्यायाम नगरेको वा धेरै समयसम्म व्यायाम नगरिकन बसेको हाम्रो शरीरका मांसपेशीहरु पनि बाँझो खेतको सुख्खा माटो जस्तै हुन्छ । हाम्रो शरीरलाई पनि खेत जोते सरी बिभिन्न किसिमका कसरतहरु गर्ने गरिन्छ ।

अब खेत मात्रै जोतेर पुगेन, त्यो सुख्खा माटोमा त केही उब्जनी हुनेवाला छैन । तसर्थ, कुलो बनाइन्छ पानी लगाउनको लागि । हाम्रो शरीरमा चैं कुलो बनाउनु पर्दैन, कुलो सरह काम गर्ने नसाहरु पर्याप्त हुन्छन । धेरै समयसम्म बाँझो बसेको माटोमा पानी त हुँदैन, त्यसैले शुरुमा, बालीको बिऊ रोप्नु अगावै माटोलाई पर्याप्त पानी दिनु पर्दछ । थोरै पानी दियो भने त खेतको माटोसम्म नपुग्दै कुलोकै माटोले सोस्दिन्छ । लगातार पानी बगाउनुपर्छ खेतको पुरै सतहको माटो भिज्ने गरी । यसरी नै हाम्रो शरीरमा पनि शुरु शुरुमा कसरत (एक्सर्साइज) गर्दा एक्कसि धेरै रगत मांसपेशीमा पुग्न सक्दैन र एकैचोटि भिज्न पाउँदैन । नसाबाट रगत बग्ने क्रम बिस्तारै हुने गर्दछ, जति हामीले चाँडो गर्न खोजे पनि शरीरले मान्दैन किनकि जत्रो कुलोको साइज छ, त्यति मात्रै अट्ने गरी पानी लगाइन्छ नत्र अन्यत्र पोखिएर जान्छ । हाम्रो नसाको साइज जत्रो छ त्यति नै रगत बग्ने हो र जति मुटूले फाल्न सक्छ त्यति मात्रै लिएर जाने हो नसाले । हामीले शुरु शुरुमा धेरै जोड गर्यौं भने नसाबाट रगत त पोखिएर नजाला कुलोमा जस्तै तर त्यसको असर शरीरले देखाइहाल्छ, चक्कर आउँछ, वाकवाक लागेको जस्तो हुन्छ, आँखा तिर्मिराउँछ, शरीर कमजोर भएको जस्तो हुन्छ, आदि ।

जति जति मुटूले छिटो छिटो रगत फाल्न सक्छ त्यति नसाले रगत मांसपेशी तिर बगाउँदै लैजान्छ र यो निरन्तर एक्सर्साइज गरी ट्रेनिङ्गको इन्टेन्सिटी बढाउँदै गएपछि मात्र सम्भव हुने कुरा हो । हाम्रो मांसपेशीले पनि एक्सर्साइजको इन्टेन्सिटी अनुसार नै रगत पाउने गर्छ र बिस्तारै मांसपेशी बृद्धि हुने गर्छ ।

अब यो खेतमा पानी मात्रै लगाएर पुगेन, बिउ रोप्नु पर्यो, मलजल गर्नु पर्यो, हेरचाह गर्नु पर्यो अनि बिस्तारै बाली सप्रिन थाल्छ । हाम्रो शरीरमा धेरै रगत पुगेर मात्र भएन अब, हाम्रो शरीरलाई पनि यो खेतमा जस्तै मलजल गर्ने पौष्टिक आहार दिनु पर्यो, आराम बिश्राम दिनु पर्यो अनि हेरचाह गर्नु पर्यो । तत्पश्चात, शरीरको मांसपेशीहरु बृद्धि हुँदै जान्छ र एउटा बाली सप्रे झैं गतिलो शरीर बन्छ । एउटा बिउबाट बाली बन्ने प्रक्रियामा सूक्ष्म जिवाणु विकासबाट शुरु भए जस्तै हाम्रो मांसपेशीहरुमा पनि सूक्ष्म जिवाणुहरु हुन्छन र यसको विकासको प्रक्रिया पनि उस्तै उस्तै हुन्छ । एउटा बाँझो खेत जोतेर उब्जाउन त दुई-तीन महिना लाग्छ भने रातारात शरीर बनाउने सपना देखे पनि पूरा हुँदैन किनकि यो हाम्रो शरीरको प्रकृतिको नियम भित्र नै पर्दैन ।

खेत उब्जाउन छाडे पछि जस्तो नै उर्बर भूमि पनि उजाड र बाँझो भए जस्तै जस्तो मै हुँ भन्ने बडिबिल्डङ्गका हस्थी र च्याम्पियन नै भए पनि लामो समयसम्म ट्रेनिङ्ग गर्न छाडे उसको शरीर पनि बाँझो भएर जान्छ । अन्त्यमा, शरीरलाई बाँझो नराख्नुहोस, जोत्नुहोस, पानी लगाउनुहोस, मलजल गर्नुहोस, हेरचाह गर्नुहोस र शरीरलाई हेर्दैमा हराभरा राख्नुहोस ।

सन्जित श्रेष्ठ
सिड्नी, अष्ट्रेलिया