Mobile menu

पिरियोडिक मेडिटेशन - व्यायामको नौलो आयाम

Rate this item
(0 votes)

पिरियोडिक मेडिटेशन - व्यायामको नौलो आयाम

पिरियोडिक मेडिटेशन अर्थात् क्षणिक ध्यान, यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, ध्यान पनि क्षणिक हुन्छ र? भनी | ध्यान त हामी बिच कुनै नौलो कुरो नै भएन | ध्यान भन्ने बित्तिकै हामी बुझ्ने गर्छौं पलेंटी कसी मुद्रामा बसेको, एकान्त ठाउँ, सुनसान ठाउँ, चिम्लिएको आँखा अनि एकाग्रता | ध्यानलाई मैले पनि यसरी नै बुझेको थिएँ, सुनसान ठाउँ अनि एकाग्रता | कक्षा ७ मा पढ्दै गर्दा नेपाली बिषय पढाउने शिक्षकले सिकाउनु भएको थियो, उत्प्रेरित गर्नु भएको थियो ध्यान गर्न, एकाग्र हुन | सानो छंदा चन्चले स्वभावको आफू, दिनभरी फुटबल खेल्न पायो भने खान पनि नपर्ने, रातको समयमा सरले भनेझैं एकाग्र हुने कोशिश गरें, कहाँ सक्नु | दिमागमा केवल यसरी बल छल्लाउन सक्या भए गोल हान्न सकिन्थ्यो होला अनि भोलि यसरी नै खेल्छु भन्ने जस्ता नानाथरी कुरा खेल्ने | कयौं पटक कोशिस गरें, एकाग्र हुनै सकिन | शायद मेरो उमेर दोषी थियो कि ध्यान मेरो प्राथमिकतामा परेन | हुन त मेडिटेशन अर्थात् ध्यान प्रचलित रुपमै लामो समय सम्म एकाग्र भएर बस्ने अभ्यास हो जसले मानिसलाई आफ्नो काम अनि उद्ध्येश्यमा एकाग्र हुन मद्धत गर्दछ | यहाँ चर्चा गर्न खोजिएको क्षणिक ध्यान "पिरियोडिक मेडिटेशन" लामो समय देखि मेरो मनमा सलबलाएका तरंगहरु हुन् |

बडिबिल्डिङ्ग अनि फिटनेसमा लागेको बर्षौं भयो | जिमको माहोल शुन्य प्राय असम्भव नै हुन्छ, मान्छेहरुको कोलाहल, ठूला ठूला आवाजमा घन्किने गीतहरु, फलाम भुइमा बजारेको आवाज, व्यायाम गर्दा जिम नै पुरा थर्किने गरी आउने चिच्याहटहरु बिचमा म खोज्दै छु क्षणिक ध्यान | तपाइहरुलाइ लाग्ला के यो सम्भव होला? यो प्रश्नमा मा फेरी पनि आउने छु | व्यायाम विज्ञानमा मन-मस्तिष्क र मांशपेशीको सम्बन्धमा निकै चर्चा हुने गरेको छ | एउटा आकर्षक शरीर निर्माण गर्न अझ भनौं आफ्नो शरीरलाई बलिष्ठ रुपमा परिमार्जन गर्न शरीर मात्रै बलियो भएर पुग्दैन, त्यसमा मन र मस्तिष्कको भूमिका उत्तिकै महत्वपुर्ण हुने गर्छ | कुनै पनि व्यायाम गर्दा प्राय मांशपेशीकै व्यायाम गर्ने गरिन्छ वा मांशपेशी नै ज्यादा प्रभावित हुने गर्छ चाहे त्यो वेट ट्रेनिङ्ग होस्, आफ्नै शरीरको वजन उपयोग गरी गर्ने बडिवेट ट्रेनिङ्ग होस् या योग | कुनै एउटा निश्चित मांशपेशीको कसरत गरिन्छ भने मन-मस्तिष्कलाइ त्यसै मांशपेशीसंग हरदम जोड्ने प्रयास गर्नुपर्छ अनि उक्त मांशपेशीले चांडो भन्दा चांडो प्रतिक्रिया जनाउने गर्दछ | त्यस प्रतिक्रियाको फलस्वरूप उक्त मांशपेशीमा धेरै मात्रामा रगतको बहाव बढ्ने गर्छ, मांशपेशीका अति सूक्ष्म रेसाहरु च्यातिने गर्छन, त्यसको बिस्तारै पुन प्राप्ति (मसल रिकभरी) हुने गर्दछ र कालान्तरमा उक्त मांशपेशीको घनत्व बढ्ने प्रक्रिया शुरु हुन्छ (सबै मांशपेशीमा लागू हुदैन) |

यसरी कसरत भइरहेको मांशपेशीमा मन-मस्तिष्कको केन्द्रबिन्दु बनाउनु नै व्यायामको एकाग्रता हो | व्यायाम गर्दा फलाम उचाल्नु मात्रै ठूलो कुरा होइन, यो एकाग्रता बिना व्यायामको कुनै मूल्य मान्यता रहन्न | चाहे शिकारु होस् या चाहे अनुभवी व्यायाम गर्ने होस् या चाहे प्रोफेसनल बडिबिल्डर नै किन नहोस, व्यायाम गर्दा एकाग्रता नित्तान्त आबश्यक हुन्छ | व्यायाम गर्दा म कसरी ध्यान केन्द्रित हुन्छु भन्ने सानो एउटा उदाहरण टक्र्याउछु यहाँ | छातीको मांशपेशीको व्यायाम जसलाई चेस्ट ट्रेनिङ्ग भनिन्छ, त्यो गर्नको लागि म बेञ्च प्रेस लाई उदाहरण लिंदै छु | ५० केजी तौल बार्बेल भएको बेन्चमा बार्बेल तिर फर्की पल्टेर बार्बेल उचाल्छु, केहि सेकेन्ड बार्बेल अनि आफ्नो शरीरलाई सन्तुलनमा ल्याउने प्रयास गर्छु | त्यसपछि बिस्तारै बार्बेललाई छातीसम्म ल्याएर फेरी माथि नै उचाल्छु, यसरी यो बार्बेललाई १५ चोटी तल माथि गर्छु जसलाई अंग्रेजीमा Repetition भनिन्छ | हुन त मेरो क्षमता ५० केजी भन्दा बढी नै उचाल्ने छ तर पनि यहि तौल बाट शुरु गर्छु, पहिलो १५ रेपिटिशन हल्का भए पनि म यो व्यायाम गर्दा पूर्ण रुपमै छातीको मांशपेशीमा केन्द्रित हुन्छु | अरुले हेर्दा बेञ्च प्रेस गरेको रहेछ भन्ने देखिन्छ केवल बार्बेल लाई तल माथि गरेको |

हरेक चोटी बार्बेललाई छातीबाट माथि उठाइसके पछि म मन-मस्तिष्कलाई छातीको मान्श्पेशिमा केन्द्रित गर्छु, जोडले निचोर्ने प्रयत्न गर्छु, नित्तान्त एकाग्र भई | मेरो पूरा ध्यान त्यहि मांशपेशीमा हुने गर्दछ, हरेक रेपिटिशनमा निचोर्ने प्रयास गर्छु | शुरु शुरुमा केहि फरक अनुभूति नपाए पनि ८-१० रेपिटिशन पछि जब रगतको बहाव छातीमा बढ्दै जान्छ तब छातीमा आगो बले सरी पोल्न थाल्छ तर म त्यहि रोकिन्न | १५ सम्म पुगुन्जेल उचाल्ने नसक्ने गरी गल्न थाल्छ अनि अझ बढी पोल्दै आउँछ | यो अबस्थामा मेरो ध्यान पुर्ण रुपमै छातीको मांशपेशीमा भन्दा पनि त्यसको दुखाइमा केन्द्रित हुन्छ, पोलाइमा समाहित हुन्छ | मेरो व्यायामको पूरा दौरानमा, चाहे त्यो २० मिनेटको होस्, आधा घण्टाको होस् वा एक घन्टाको होस्, बेञ्च प्रेस जस्तै हरेक व्यायामको हरेक रेपिटिशनमा मेरो ध्यान मांशपेशीको दुखाइ अनि पोलाइमा हुने गर्दछ | त्यो समयमा जिम भित्र कयौं मान्छे आउछन जान्छन, पुरै जिम थर्किने गरी गीत घन्किरहेको हुन्छ, फलामको आवाजको त कुरै छोडौं, कैयौं मान्छेहरु व्यायाम गर्दा कनिरहेका आवाजहरु अनि चिच्याहटहरु गुञ्जिरहेका हुन्छन | त्यहाँ शान्त वातावरण पक्कै हुदैन तर पनि म एक सेट पछि अर्को सेट, एक रेपिटिशन पछि अर्को रेपिटिशनमा ध्यान गरिरहेकै हुन्छु, क्षणिक ध्यान, १० सेकेन्ड देहि ३० सेकेन्डको ध्यान | एक घन्टाको व्यायाममा आरामको समय बाहेक २५-३० मिनेटसम्म व्यायामका साथसाथै क्षणिक ध्यान गरिरहेकै हुन्छु र यो म बर्षौं देखि गर्दै आइरहेको छु |

ध्यान एकाग्रता हो, मानसपटलमा यत्रतत्र छरिने बिचारहरुलाई नियन्त्रण गर्न एउटा केन्द्रबिन्दुमा अडिनु हो | कोही 'ऊं' मा एकाग्र हुन्छन, कोही मन्दिरको घन्टीको आवाजमा केन्द्रित हुन्छन, कोही खोलाको सुसाइमा, कोही हावाको स्पर्शमा, कोही चराचुरुंगीको आवाजमा भने कोही शून्यमा बिलिन हुन्छन र म जस्ता व्यायाम गर्ने व्यक्तिहरु मांशपेशीको पोलाई अनि दुखाइमा ध्यान केन्द्रित हुन्छन | हरेक किसिमको ध्यानले मस्तिष्कमा प्रभाव पारेकै हुन्छ, लाभान्वित् गराइरहेको हुन्छ | व्यायाम संगै गरिने ध्यानले मन-मस्तिष्क र मांशपेशीको सम्बन्धलाई प्रगाढ बनाइ शारीरिक रुपमा फाइदा दिलाउँछ नै, हरेक व्यायाममा ध्यान केन्द्रित हुँदा मस्तिष्कले पनि उत्तिकै लाभ लिईरहेको हुन्छ | व्यायाम गर्दा त्यही ध्यान कसरत गरेको मांशपेशी भन्दा बाहिर भड्कियो भने उक्त मांशपेशीले चाहे जति प्रभाब प्राप्त गर्न सक्दैन र आफुले चाहे जस्तो नतिजा आउन ढिला समेत हुन सक्छ | महिनौं वा बर्षौं सम्म जिम धाएर नियमित व्यायाम गर्नेहरुको पनि शरीरमा कुनै परिबर्तन नदेखेको मेरा यी आँखाहरु नै साक्षी छन् | धेरैले यो ध्यानलाई वास्तै गरेका हुन्नन् जुन अत्याबश्यक छ | यसर्थ, प्रभावशाली ढंगबाट ध्यान केन्द्रित भई गरेको व्यायामले पिरियोडिक मेडिटेशनमा (क्षणिक ध्यानमा) टेवा पुर्याइरहेको हुन्छ र क्षणिक ध्यान गर्नको लागि कुनै एकान्त ठाउँ खोज्नु पर्दैन, होहल्लाकै बिचमा पनि क्षणिक ध्यानको कार्य गर्न सकिन्छ | यो पिरियोडिक मेडिटेशन व्यायामको नौलो आयाम साबित हुन सक्छ |

यहाँहरुमा फिटनेस सम्बन्धि केहि जिज्ञासाहरु छन भने निर्धक्क तलको इमेलमा लेखेर पठाउनुहोस |
This email address is being protected from spambots. You need JavaScript enabled to view it.


संजित श्रेष्ठ
फिटनेस कोच/फिटनेस मोटिभेटर
फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया