Mobile menu

ब्लड टेस्ट - बडिबिल्डिङ्ग स्वास्थ्य

Rate this item
(2 votes)

हो, बडिबिल्डिन्ग एउटा सुन्दर र आकर्षक खेल हो । बडिबिल्डिन्गको स्टेजमा उभिने सार्है मिलेको शरीर भएका, हेर्दै लोभ लाग्ने र बलिष्ठ देखिने बडिबिल्डरहरु देखेरै यो क्षेत्रमा लागिपर्ने युवाहरु धेरै नै हुन्छन । हुन त शुरु शुरुमा सबै स्वास्थ्यकै लागि भनेर व्यायाम गर्ने गर्छन तर गर्दै जाँदा शरीरको बनोट परिवर्तन हुँदै जान्छ र एकपटक प्रतियोगीताको लागि कोशिस गरौं न भन्ने मानसिकता आउनु बिल्कुल साधारण हो । प्रतियोगीताको समयमा बिभिन्न पोजिङ्ग गर्दा मसल्स फुल्लेको, निचोरिएको र नसाहरु फुट्लै जसो गरी फुल्लेको देख्दा त्यसै बखत नै ट्रेनिङ्ग शुरू गरुम गरुम हुने आभास धेरैमा हुन सक्छ ।

प्रतियोगीताको स्टेजमा उत्रिंदा बडिबिल्डर एउटा कालिगढले बर्षौं लगाएर कुँदेको मूर्ति जस्तै देखिन्छ, बाहिरी आँखाले नै देख्ने गरी मसल्सका रेसा रेसा छुट्टेका हुन्छन, शरीरभरि उम्लिएको रगत बोकेका नसाहरु अपत्यारिलो रुपमा प्रस्तुत हुन्छन । यस्तो मिलेको शरीर देख्दा "वाह !" भन्ने त लाग्छ नै तर पनि बडिबिल्डङ्ग कहिले पनि नगरेको ब्यक्तिलाई भने यस्तो शरीर बनाउन शायद जिममा भर्ना भएर ट्रेनिङ्ग गरेपछि सजिलै हुन्छ भन्ने भान हुन सक्छ । प्रतिस्पर्धात्मक शरीर बनाउन एक जना बडिबिल्डरले बर्षौं मेहेनत गरेको तथ्य शायदै बाहिर निस्किन्छ, शायदै कसैलाई देखाउन सकिन्छ । त्यो देखिन्छ त केवल बनेको शरीरमा ।

स्टेजमा जति राम्रो देखिन्छ, स्टेजमा पुग्नु भन्दा अघिको परिश्रम निकै भयानक हुन्छ, कसैले आफै नगरी त्यसको अनुभव कहिल्यै गर्न सक्तैन । लामो समयदेखि ट्रेनिङ्ग गरिएको भए पनि एकैचोटि अझ भनौं, भन्ने बित्तिकै तुरुन्तै प्रतियोगीताको लागि तयार हुन निकै कठीन हुन्छ । बडिबिल्डरहरु बार्है काल बार्है महिना प्रतियोगीताको लागि तम्तयार भएर कदापि बस्न सक्दैनन । ट्रेनिङ्ग गर्न जान्दैमा, खानेकुरा मिलाउन जान्दैमा कहाँ सोचे जस्तो सरल हुन्छ र, शरीरले आफ्नै गतिमा नतिजा दिने गर्दछ, हामीले हत्तारेर शरीरको अगाडि केहि जोर चल्दैन ।

 

प्रतियोगीताको लागि ट्रेनिङ्गको मात्रै भुमिका कदापि हुँदैन, खानपिनको कडा अनुशासनमा नबसी सोंचे जस्तो शरीर बन्न सक्दैन । बडिबिल्डिङ्ग प्रतियोगीताको खेलाडिको हेरिने भनेको मसल्सको डेफिनिषन, डेन्सिटि अनि सिमेट्री हो र सबै मसल्सलाई कत्तिको आकर्षक रुपमा प्रस्तुत गरिन्छ भन्ने कुरामा बढी जोड दिइन्छ । यसरी मसल्स देखिनको लागि सर्बप्रथम त शरीरमा बोसोको कमी गराउनु पर्दछ । शरीरमा बोसोको मात्रा कमि गराउन अनेक उपायहरु अपनाउनुपर्ने हुन्छ, हप्तै पिच्छे शरीरको ताकत र स्थिति अनुसार खानेकुरामा (यसमा खानेकुराको साथसाथै सप्लिमेन्ट पनि पर्छ) फेरबदल गर्नुपर्ने हुन्छ । जथाभावी खाएर एउटा प्रतिस्पर्धी शरीरको निर्माण गर्न निकै नै कठीन हुन्छ । बोसोको मात्रा कमि गर्दै मसल्सको मात्रा बढाउनु बडिबिल्डिङ्गको क्लोज क्याम्पको एउटा चुनौतिपूर्ण हिस्सा हो । शरीरमा बोसोको कमि हुँदै गएपछि छाला पनि पातलिंदै जान्छ, मसल्सको गुणस्तर पनि राम्रो देखिंदै जान्छ । शरीरलाई यस्तो स्थितिमा ल्याउन चिनी, नून, तेल कार्बोहाइड्रेट, पानी र अन्य बस्तुहरु बार्दै जानु पर्ने हुन्छ र फलस्वरूप शरीरमा यी तत्वहरुको बिस्तारै कमि हुँदै जान्छ । प्रतियोगीताको अन्तिम अन्तिमसम्म पुग्दा शरीर कमजोर हुँदै जान्छ तर बाहिर बाट हेर्दा चैं शरीर सार्है लोभलाग्दो देखिएको हुन्छ । हप्तौंसम्म शरीरलाई चाहिने थुप्रै पौष्टिक तत्वहरुको कमि गराउँदा हाम्रो कलेजो, फोक्सो, मुटू, म्रिगौला, पित्त थैली, आन्द्रा आदिले गर्ने निर्धारित कार्यहरुमा पूर्ण रुपमा असर परिरहेको हुन्छ । बडिबिल्डिङ्ग खेलको माग नै यस्तो भएपछि एउटा जितको लागि वा आफ्नो उत्क्रिष्ट प्रदर्शनको लागि स्टेजमै ढल्ने गरी तयारीमा जुट्नुको कुनै बिकल्प नै छैन । हामीले स्टेजमा हेर्दा केवल ताली मात्रै बजाउन मन लाग्ने शरीरहरु भित्रभित्रै शिथिल भएको हामीलाई पत्तै हुँदैन ।

प्रतियोगीता सकिन्छ, जजहरुले निर्णय सुनाउँछन, जित्ने खुशी हुन्छन, हार्नेको चित्त दुख्छ, कसैले गाली गलोज गर्छन भने कसैले अर्को प्रतियोगीतामा राम्रो गर्ने ईख बोक्छन तर प्रतियोगीताको लागि सबैले उत्तिकै दुख, मेहेनतका साथ तयारी गरेका हुन्छन । यसरी महिनौसम्म तयारीमा जुटेका खेलाडीहरुलाई प्रतियोगीता सकिने बित्तिकै एउटा युद्ध नै सकेको महशूस हुन्छ, महिनौसम्म खानामा कडाइका साथ बन्देज लगाएको ढोका एकै पटक खुल्ला हुन्छ र उत्सव मनाउन शुरु गर्छन, अन्धाधुन्ध खान शुरु गरेर । शरीर भित्र एकैचोटि खानेकुराको भेल बग्न शुरु हुन्छ, हरेक चिज अड्कलेर-नापेर खाइएको खानालाई पचाउन बानी परेको पाचन प्रणाली अचानक रणभुल्लमा पर्छ, अन्य आन्तरिक अङ्गहरुमा पनि कार्यभार थपिंदै जान्छ । डायट्मा बसेको बानी परेको अङ्गहरुलाई एकैचोटि डायटमा बस्नु भन्दा अघिकै स्थितिमा तुरुन्तै आउनै सक्तैन र बिरामी पर्ने जोखिम बढी हुन्छ । हाम्रो मानसिकताले हतार गर्न सक्ला तर शरीरले कहिल्यै हतार गर्न सक्दैन । यसरी जस्तो तरिकाले बिस्तारै डायट्मा बसी प्रतियोगीताको तयारी गरिएको हुन्छ, प्रतियोगीता सके पछि पनि बिस्तारै नै शरीरलाइ साधारण स्थितिमा फर्काउनुपर्छ ।

एउटा कुरा के प्रष्ट्याउन चाहन्छु भने स्वास्थ्य बिना बडिबिल्दिङ्ग खेल कुनै हालतमा सम्भव हुँदैन र यो खेल अरु खेल जस्तो कदापि होइन । साधारणतया जसरी शरीरलाई ब्लड प्रेसर, ग्लुकोज, कोलेस्टेरोल, भिटामिन, मिनरल अनि पानीको जरुरत पर्छ त्यसरी नै प्रतियोगीताको तयारीको दौरानमा यी सबै चिजको उत्तिकै महत्व हुन्छ तर प्रतियोगीताको दिनसम्म आइपुग्दा यी सबै चिजको भारी गिरावट आएको हुन्छ हाम्रो शरीरमा । हाम्रो स्वास्थ्य प्रतियोगीताको तयारी भन्दा अघि जत्तिको महत्वपूर्ण हुन्छ, त्यसको पश्चात पनि उत्तिकै महत्वपूर्ण हुन्छ । प्रतियोगीता हुनेवाला छ भन्ने हावा चल्न्न थालेपछि खेलाडीहरुको रगत तात्तिन थाल्छ र पत्रकार सम्मेलन हुने बित्तिकै तयारीमा हाम्फाल्छन, आफ्नो शरीर भित्र (म्रिगौला, फोक्सो, मुटू, सुगर, कोलेस्टेरोल, मिनरल्स, आदि) के कस्तो स्थिति चलिरहेको छ जाँचबुझ नै नगरी । हाम्रो भित्री स्वास्थ्य कस्तो छ भनेर एकचोटि चिकित्सक संग परामर्श लिई रगत जाँच गराउँदा सबै कुरा छर्लंग हुन्छ । हुन त हामीलाई स्वास्थ्य संग कुनै सरोकार नै छैन, बस् ज्यान बनाएर स्टेजमा उभिनु छ, ट्रफी उचाल्नु छ, मेडल जित्नु छ । जितेर इतिहास रच्नुपर्छ तर आफ्नो स्वास्थ्यलाई पनि उत्तिकै जाँचबुझ गर्दा सधैं बिजयी भइन्छ । प्रतियोगीताको तयारी गर्नु अघि नै आफ्नो शरीर जाँच गराउँदा आन्तरिक कमीमा ध्यान पुग्छ, तयारी गर्दा झन शरीरलाई नपुगेको चिज प्रदान गर्ने अवसर मिल्छ जसले गर्दा शरीरले नतिजा पनि राम्रो दिने गर्दछ ।

माथि उल्लेख गरे जस्तै प्रतियोगीताको दौरानमा हाम्रो शरीरमा धेरै चिजको कमि हुँदै गएको हुन्छ, शरीर निकै कमजोर भएको हुन्छ । यसरी खेल पश्चात पनि चिकित्सक संग परामर्श लिई रगत जाँच गराई कलेजो, फोक्सो, मुटू, म्रिगौला, पित्त थैली, आन्द्रा कोलेस्टेरोल, सुगर अनि भिटामिनहरुको स्थिति थाहा पाउँदा जस्तो शरीर बलिष्ठ देखिन्छ त्यस्तै तन्दरुश्त राख्न सकिन्छ । खेललाई खेलकै स्थान दिनुपर्छ र खेलको तयारी पूर्व र पश्चात शरीरलाई भरसक स्वस्थ नै राख्नुपर्छ भन्ने चेतना आउनु जरुरी हुन्छ । अर्को कुरा आयोजकहरुले पनि यो ३ महिने म्यादको सूचनालाई परिमार्जित गरेर सकभर बार्षिक क्यालेन्डर नै बनाउँदा खेलाडीहरुले मनग्य समय पाउँछन तयारीका लागि भने आफ्नो स्वास्थ्यको स्थिति पनि जाँचबुझ गर्ने समय मिल्छ । यसरी तयारी गर्दा मसल्सको गुणस्तर त बढ्ने नै भयो, प्रतियोगीताको स्तर पनि बढ्ने हुन्छ । ३ महिने प्रेसरमा तयारी गर्नु पर्दा कति खेलाडीहरुले आफ्नो स्वास्थ्य स्थितिलाई थाँति राख्नुपर्ने हुन्छ, कत्तिले तयारी गर्न नसकेर बिचमै छोडेका कहानीहरु त आएकै हुँदैन बाहिर । यसरी लामो समय दिंदा धेरै खेलाडीहरुको सहभागिता हुने पक्का हुन्छ । अन्तमा जिम गरेर मात्रै, बडिबिल्डिर हो भनेर मात्रै स्वस्थ भइँदैन, स्वस्थ हुनको लागि आफ्नो आन्तरिक स्वास्थ्य कस्तो छ खेल पूर्व र पश्चात रगत जाँच गरी पत्ता लगाउनुमा नै बुद्धिमता हुन्छ ।
सदा स्वस्थ रहनुहोस ।

सन्जित श्रेष्ठ
बडिबिल्डिङ्ग कोच
(हाल सिड्नी, अष्ट्रेलिया)