Mobile menu

कमन फिट-सेन्स-नेस

Rate this item
(1 Vote)

लाग्छ, फिटनेस पनि एउटा युद्ध हो, आफ्नै शरीर अनि मानसिकता बीच हुने युद्ध | जहाँ युद्ध हुन्छ त्यहाँ हार र जितको निचोड हुन्छ अनि जहाँ हार र जितको मानसिकता सिर्जना हुन्छ त्यहाँ तयारी पनि हुने गर्दछ | फिटनेसका प्राय उधेश्यहरु युद्ध सरी हुन्छन जसमा सफलता हासिल गर्नु नै युद्ध जित्नु बराबर हुन्छ र त्यसको लागि हर हालतमा तयार हुनु पर्दछ | कुनै तयारी बिना कसैले युद्धको घोषणा गर्दैन, तयारी बिनाको युद्ध सम्भवतः हारिने भय हुन्छ | सैनिकहरु जित्नै भनेर युद्धमा होमिन्छन र उनीहरु मैदानमा उत्रनु पूर्व तयारीका कसरतहरुमा अभ्यस्त हुन्छन, हात हतियार प्रयोग गर्नमा निपुण हुन्छन, आपत बिपतमा ज्यान जोगाउने उपायहरु सिकेका हुन्छन, आदि |

धेरैलाई नलाग्न सक्छ फिटनेसका उध्येश्यहरु युद्ध सरह हुन्छन भनेर | अरुको मिलेको शरीर झट्ट हेर्दा अनि अरुको सफलताका कथाहरु सुन्दा निकै सजिलो देखिन्छ र सुनिन्छ पनि तर बास्तबिकता बेग्लै हुन्छ, युद्धमै होमिएको जस्तो हुन्छ | फिटनेसको यात्रा सोचे जस्तो त्यति सजिलो पनि कहाँ छ र ! जिममा भर्ना हुने बित्तिकै आफ्नो फिटनेसको उद्येश्य पूरा हुन्छ भनेर सोच्नु र चालकको सिटमा बस्ने बित्तिकै गाडी हाँक्न सकिन्छ भनेर सोच्नु उस्तै हुन आउँछ | दुबैको लागि उत्तिकै अभ्यास अनि तयारीको खाँचो पर्छ | जिमभित्र लोभ नै लाग्दो सामानहरु हुन्छन, मान्छेहरु रहर लाग्ने गरी ट्रेडमिलमा कुदिरहेका हुन्छन, बडो फुर्तीका साथ फलाम उचालेर व्यायाम गरिरहेका हुन्छन अनि बेजोड पसिना बगिरहेको हुन्छ | अरुले गरेको देख्दा यत्ति गर्यो भने त आफ्नो पनि उद्येश्य छिट्टैनै पूरा भैहाल्छ भनेर मनमा सकारात्मक सोच जाग्नु स्वाभाविकै हो तर त्यत्ति पसिना बगाउनलाई कत्तिको मेहेनत गर्नुपर्छ त्यो आफैले नगरी अनुमान लगाउन सकिने कुरै भएन |

हुन त हाम्रो समाज अझै पनि व्यायाममय बनिसकेको छैन | चिकित्सकले शरीरमा हुने खतराको घन्टी नबजाएसम्म रत्तिभर नब्युझने बानी परेको हुन्छ | मोटोपन धेरै रोगहरुको जड हो भन्ने थाहा हुँदा हुँदै पनि डाक्टरकै तौल घटाउने परामर्शको पर्खाइमा हुन्छौ हामीहरु | मानौं डाक्टरले तौल घटाउने सल्लाह दियो तपाईंलाई चाहे जे सुकै करणले होस्, चाहे त्यो मधुमेह होस्, चाहे उच्च कोलेस्टेरोल, चाहे उच्च रक्तचाप, चाहे थाइरोइड या अन्य कुनै | अब तपाईंको तौल घटाउने उद्येश्य नै एउटा युद्ध सरह हुन्छ जहाँ तपाईंको मन र शरीर बिच द्वन्द्व शुरु हुन्छ | तपाईंको मनले भन्छ, "तैंले जसरी नि तौल घटाउनै पर्छ" | तपाईको मनोबल पनि निकै उच्च हुन्छ, यति उच्च हुन्छ कि हप्ता दस दिनमै वा एक महिनामै घटाइदिन्छु | कुद्छु, पौडी खेल्छु, जुम्बा नाच्छु डाएट (Diet - खाना बार्छु) गर्छु अनि घटिहाल्छ भन्ने कुरा मानसपटलमा रुमल्लिन थाल्छन | फिटनेसको युद्ध जित्नको लागि यस्तो सकारात्मक सोच अनि मनोबल नित्तान्त आबश्यक हुन्छ तर एकैछिन ब्रेक लगाउनुहोस यहाँ र सोच्नुहोस, शरीरलाई पेलाउन मन त पूर्ण रूपमै तयार छ, के शरीर पनि त्यत्तिकै स्तरमा तयार छ त पेलिन? आफैलाई यी तीन प्रश्न सोध्नुहोस, "के म धेरै समय पछि व्यायाम गर्दै छु? के म पहिलोचोटी व्यायाम गर्ने हिम्मत गर्दै छु? ममा मेडिकल कन्डिसन (शारीरिक स्थिति-कुनै रोग ब्याध लागेको) छ कि छैन ? यदि कुनै पनि प्रश्नको जवाफ "हो, छ या सकारात्मक" आउँछ भने आफ्नो उद्येश्य पूरा गर्न कडा व्यायाम गर्न हतार नगर्नुहोस | कुनै पनि व्यायाम गर्न तपाईंको मानसिकता प्रबल हुन सक्छ, तपाईंका हातगोडाहरु व्यायाम गर्न लालायित हुनसक्छन तर हत्केला र पैतलाको छाला नरम र कमजोर हुन सक्छ, तपाईंको मनको तुलनामा मुटू तयार नरहेको हुन सक्छ, तपाईंको फोक्सोले एकैचोटी अक्सिजनको चाप थेग्न तयार नहुन सक्छ, हाड जोर्नीहरू लचिलो नहुन सक्छ अनि व्यायाम गर्ने तरिका नमिलेको हुन सक्छ |

मानिलिउं तपाईलाई पौडी खेल्न सिक्न मन लाग्यो, अरुले सजिलैसंग पौडेको हेर्दा रहर पनि लाग्छ | अरुले कसरी खेल्दो रहेछ भनेर युट्युबमा पक्कै हेर्नु हुन्छ होला तर स्विमिङ्ग पुलको १२ फिटमा गएर पक्कै हामफाल्नु हुन्न होला| तैरिन जानेन भने डुबिन्छ, ज्यानै जान सक्छ भन्ने भय पक्का हुन्छ | यस्तै मानसिकता व्यायाम सिक्दा पनि लागू गर्नुहोस | व्यायाम गर्दै जाँदा शरीरको तापक्रम बढ्दै जान्छ, पसिना नबगे पनि डिहाइड्रेसन (शरीरमा पानीको कमी) हुँदै जान्छ, मुटूको धड्कन बढ्दै जान्छ, शरीरले धेरै अक्सिजनको मात्रा खपत गर्दै जान्छ, शरीरमा रगतको बहाब बढ्दै जान्छ अनि रक्तचाप पनि बढ्दै गएको हुन्छ | व्यायाम गर्दा यसरी शरीरले आफ्नै मनोबल संग युद्ध गरिरहेको हुन्छ | "मुटू संग सम्बन्धित रोगको खतरा न्यून भएकाहरुलाई नियमित व्यायामले फाइदा गरेको अनुसन्धानमा जानकारी पाइन्छ तर जसको खतरा बढी हुन्छ र मुटू सम्बन्धित रोग भएकाहरुलाई एक्कासी धपडी हुने खालको व्यायाम गर्दा हृदाघातको खतरा हुने र ज्यानै जान सक्ने हुन्छ" भनेर डा. नोवाकेसले धावकहरुलाई फिटनेसको स्तर उकासिदैमा मुटूको रोग निवारण नहुने प्रति इंकित गरेका छन् एक www.myheartsisters.org मा | जिम गर्दैमा, दौदिदैमा, पौडिदैमा, नाच्दैमा एकैचोटी फिट भइन्छ, एकैचोटी ज्यान बन्छ वा तौल घट्छ भनेर सोच्नु नै गलत साबित हुन जान्छ कतिको लागि, अनेक दुर्घटना भएर, अनि कति त लामो समय सम्म शारीरिक कष्टले गर्दा व्यायाम बाट बन्चित नै हुनु पर्दछ | शुरु शुरुमा (शिकारु भए पनि वा लामो अन्तरालपछि शुरु गरेको भए पनि) व्यायाम गर्दा वा शरीरलाई पेल्दा बाहिरी शरीर भन्दा भित्री शरिको क्षमतालाई बढी ध्यान दिंदा सधै लाभदायक हुन्छ |

बाहिरी शरीरको (मांशपेशी) व्यायाम गर्ने क्षमता भित्री शरीर (मुटू, फोक्सो, मृगौला, रक्तनली, पाचन प्रणाली) संग पनि अन्तर्निहित हुन्छ | त्यसैले यो फिटनेसको युद्धमा मानसिकताको प्रबलतासंगै शरीरको बाहिरी अनि भित्री सबै अंगहरुलाई तयार गर्दै लैजानुपर्छ, व्यायामको क्षमताको वृद्धि गर्दै लैजानुपर्छ | मनोबल धेरै हुँदैमा मुटूको बल धेरै हुन्छ भन्ने निश्चित हुन्न, चांडो भन्दा चांडो फिटनेस युद्ध जित्ने हेतुले शरीरको क्षमता भन्दा बढी व्यायाम गर्दा शरीरलाई चै धेरै अक्सिजन चाहिने तर फोक्सोले आफ्नो क्षमता भन्दा बढी लिन नसक्ने अनि शरीरमा रगतको बहाब चै बढ्दै जाने तर मुटूले चै आफ्नो क्षमता भन्दा बढी काम गर्न नसक्ने स्थिति सिर्जना हुँदा यदाकदा यो युद्धमा हार बेहोर्नुपर्ने हुन्छ, व्यायाम गर्दा गर्दै बेहोश हुनसक्छ, रिंगटा लागेर अनेक दुर्घटना हुन सक्छ अनि ज्यानै पनि जान सक्ने खतरा हुन्छ | यसरी फिटनेसको युद्धको तयारी गर्दा आफ्नो मनोबल र शरीरको क्षमता दुबैलाई सन्तुलनमा राख्नु पर्छ अनि बिस्तारै प्रगतिशील हुनुपर्छ | "छिटो गए भन्न सकिन्न, ढिला गए अबश्य पुगिन्छ" भन्ने हाम्रो लोकप्रिय भनाइ फिटनेसमा पनि लागू हुन्छ र अनुसरण गर्नुपर्छ पनि |

व्यायाम शुरु गर्नु भन्दा पहिले वा गर्दा गर्दै भइपरी आउने घटनालाई न्यूनीकरण गर्न पूर्ण रूपमै सजग भै केही "कमन फिट-सेन्स-नेस" का उपायहरु अपनाउन सकिन्छ |

१. आफ्नो उच्च मनोबलका बाबजूद पनि शरीरको क्षमता कत्तिको छ, कस्तो तरिकाले व्यायाम गर्दा सुरक्षित भइन्छ र उमेर, शरीरको अवस्था (मेडिकल कन्डिसन) अनि जीवनशैली सुहाउँदो व्यायाम कसरी गर्ने भन्ने कुरा अनुभवी फिटनेस प्रशिक्षक संग परामर्श गर्दा सधै लाभदायक हुन्छ |
२. कसैको परामर्श बिना एक्लै व्यायाम गर्न शुरु गर्नुहुन्छ भने पनि धैर्य धारण गर्नुहोस र आफ्नो शरीरलाई सुन्नुहोस | आफ्नो शरीरलाई आफैले जति अरु कसैले बुझ्न सक्दैन | व्यायाम गर्दा गर्दै शरीरमा केही अप्ठ्यारोपन महशूस हुने बित्तिकै व्यायाम गर्न रोक्नुहोस र एकछिन बिश्राम गर्नुहोस् | फेरी आफ्नो शरीरलाई सुन्नुहोस व्यायाम लाई निरन्तरता दिने कि नदिने भनेर |
३. रक्तचाप, कोलेस्टेरोल, मधुमेह, हाइपर्टेन्सन, दम, हृदयघातका इतिहास जस्ता मेडिकल कन्डिसनहरु छन् भने सकेसम्म एक्लै व्यायाम नगर्नु नै बेश हुन्छ | कुनै साथी वा व्यक्तिहरु भएको ठाउमा व्यायाम गर्दा आकस्मिक सेवाको लागि सजिलो हुन सक्छ |
४. व्यायाम गर्दा निरन्तर पानि पिउने बानी छैन भने अब देखि बानी बसाल्नुहोस | यो कुरा सबैमा लागू हुन्छ | प्यासनै लागेको छैन वा पसिनानै बगेको छैन, पानि किन पिउने भन्ने मानसिकताले धेरैलाई गाँजेको हुन्छ | व्यायाम गर्दा शरीरको तापक्रम बढ्दै गएको हुन्छ र यसलाई सन्तुलनमा राख्न शरीर भित्रको पानीको खपत भैरहेको हुन्छ र शरीरमा पानीको कमि हुँदै जान्छ जसलाई डिहाइड्रेसन भनिन्छ | ओंठ सुक्ने, मुख सुक्ने जस्ता लक्षण देखा पर्न साथ पानि पिउनुहोस |
५. व्यायाम गर्दा मौसम सुहाउँदो पहिरन लगाउनुहोस | गर्मी मौसममा हल्का खालको लुगा लगाउनुहोस | जति धेरै पसिना बग्यो त्यति चांडै तौल घट्छ भन्ने सोचेर बाक्लो लुगा लगाएर व्यायाम नगर्नुहोस | मौसमका कारण त्यसै त शरीरको तापक्रम बढेको हुन्छ, त्यसैमा व्यायाम गर्दा झनै ताप बढ्दै जाँदा उकुसमुकुस हुने सम्भावना बढी हुन्छ अनि हिटस्ट्रोक (heatstroke) को खतरा बढी हुन्छ | यसरी बाक्लो लुगा लगाएर व्यायाम गर्ने पनि बानी बसाल्नु पर्छ |

यहाँहरुमा फिटनेस सम्बन्धि केहि जिज्ञासाहरु छन भने निर्धक्क तलको इमेलमा लेखेर पठाउनुहोस
This email address is being protected from spambots. You need JavaScript enabled to view it.


संजित श्रेष्ठ
फिटनेस कोच/फिटनेस मोटिभेटर
फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया