Mobile menu

मोटोपन, वेट लस र फ्याट लस

Rate this item
(0 votes)

स्तिसम्म कत्रो इज्जत थियो त्यो भुँडीको हाम्रो समाजमा, ठूलो भुँडीको | ठूलो पेटलाई एउटा शानको रुपमा हेरिन्थ्यो, ऐस आराम अनि सुखको दृष्टिकोणले हेरिन्थ्यो | अझै याद छ ८-१० बर्ष अघिसम्म पनि आफूले चिनेजानेको अनि संगतमा आएको व्यक्तिहरुलाई ठूलो भुँडी र स्वास्थ्य सम्बन्धि सचेत गराउन खोज्दा "कम्ता दुख गरेर लगाको भुँडी हो यो? कता घटाउने कुरा गरेको?" भुँडी मुसार्दै "यो त सफलताको उदाहरण हो |" जवाफ फर्काउने गर्थे| कसै कसैलाई ठाडै भन्ने गर्थें भने कसैलाई मनमनै भनिदिन्थें, "जुन दिन धल्छौ अनि थाहा हुन्छ कस्तो हुँदोरहेछ शान र के मतलब राख्छ त्यो सफलताको प्रतीकले" | आज आएर कतिलाई त मेरो वचनवाण झल्झल्ती हुँदो हो, देख्छु म, धेरै मध्ये मैले सचेत गराउन खोजेकाहरु भुँडी घटाउने सफलता हासिल गर्न तल्लिन छन् |


जमाना बदलिएको छ, मोटोपनले निम्त्याएको वा निम्त्याउन सक्ने रोगहरु जुन प्राणघातक हुनसक्छन, जसको कारण मोटोपन एउटा बरदान नभई अभिशाप साबित हुन थालेको जमाना छ | फ़िटनेस्को बजारमा मोटोपन हटाउन अझ भनौ शरीरको तौल घटाउन मानिसहरु हरेक उपाय अपनाउन तयार छन्, जुम्बा नाच्न, एरोबिक्स गर्न, घन्टौंसम्म ट्रेड्मिलमा कुद्न, डायट्मा बस्न अथवा अनेक छिटो छरितो तरिका अपनाउन| शरीरलाई स्वस्थ राख्न अत्यधिक तौल घटाई व्यक्तिको उचाइ, उमेर र लिङ्ग अनुसार शरीरको स्वस्थकर तौल कायम गर्नुपर्छ | प्राय: शरीरको तौल भन्ने बित्तिकै तराजुले (डिजिटल तराजु) जति देखाउँछ त्यसैमा केन्द्रित हुनु स्वाभाविक हो र त्यहि तौलकै आधारमा कति वजन घटाउने किटान गर्ने चलन हुन्छ | हुन त मोटोपनको पीडामा परेकाहरुलाई तौल घटेर स्लिम भैदिए मात्रै हुन्छ भन्ने आश हुन्छ तर हाम्रो शरीरको तौल के के को हुन्छ भन्ने तिर कसैको ध्यान जाँदैन, पुरा शरीरको तौल घट्दा के के को तौल घटेको हुन्छ, के को तौल घट्दा शरीरलाई राम्रो-नराम्रो कुरामा हेक्का राखेको पाइदैन | एक जना साथीसंग परामर्शको दौरान भएको कुराकानी राख्दैछु यहाँ | शायद यो परामर्श यहाँहरु कसैको कथा पनि हुन सक्छ अथवा नजिकैको व्यक्तिको पनि हुनसक्छ |
साथी: वेट घटाउनु पर्यो यार | ३ दिन आउंछु जिम कार्डियो गर्न, १४-१५ किलोमिटर दौडिञ्छु |
म: अनि कति किलो घट्यो त ?
साथी: २-३ किलो घटेको थियो, अहिले घटेकै छैन | यति गर्यो भने घट्छ होला पछि?
म: घट्न पनि सक्छ, नघट्न पनि सक्छ |
उसको अनुहारमा थोरै नैराश्यता झल्किन्छ |
म: कति समय होइन, कस्तो खालको दौडाइ हुन्छ, त्यसमा भरपर्छ |
साथी (अलि चनाखो भएर): म त नर्मल्ली जगिंग गर्छु, अनि कहिले काही दौडिञ्छु | कसरी दौडिनु पर्छ र ?

तौल घटाउनकै लागि ट्रेड्मिलमा दौडेर होस् या बाहिरी वातावारणमा होस् या साइकल चलाएर होस्, मज्जाले सकिन्छ | मेरो साथीलाई जस्तै धेरैको दिमागमा एउटा जरो गडेको हुन्छ, "ट्रेड्मिलमा हिडे पछि, दौडे पछि तौल त तेसै घट्छ |" घट्छ पनि, नघट्ने होइन तर कार्डियोले मात्रै तौल घट्दा शरीरमा आउने परिबर्तन बारे जान्नु जरुरि छ | त्यसैले मलाई उसको दिमागमा गडेको ट्रेड्मिलको भूत हटाउनु थियो र त्यो ट्रेड्मिलको ह्यान्डल अर्को दिशामा मोड्नु थियो |
म: ल मानौं तिमीले सोचे जस्तो तिम्रो तौल घट्यो, त्यसपछि के? के गर्छौ?
साथी (अलि मक्ख पर्दै): त्यसपछि म मसल्स बिल्डिंग गर्छु, ज्यान बनाउँछु |
कसैलाई आफ्नो लक्षित तौलमा पुग्ने रहर हुन्छ |
म: समय बर्बाद भएन र?
ऊ अलि अलमलिए जस्तो देखियो, मैले यसो भनिरहँदा प्राय सबै अल्मलिन्छन | अब उसलाई प्रष्ट्याउनु थियो |
म (बिस्तारमा लाग्छु): हाम्रो शरीरको तौल निर्धारण तराजुले त गर्छ तर शरीर भित्र कुन चिजको तौल हुन्छ भन्ने हेक्का हुँदैन र सोझो या मोटो दिमाग लगाई तराजुको नापतौल घटाउन अग्रसर हुन्छौं | हाम्रो शरीरको तौल फ्याट रहित र फ्याट सहित हुने गर्छ | फ्याट रहित तौलमा मांशपेशी, हड्डी, पानी र अन्य अंगहरु पर्छन भने फ्याट सहितमा शरीरमा भएको बोसो पर्दछ | मानौं तिमीले छ महिना बर्ष दिन लगाएर १० किलो घटायौ अधिकतम कार्डियो गरेर र धेरै खानपिन बारेर | अब तिमीले के बुझ्नु जरुरि छ भने तिम्रो शरीरबाट कुन तौल घटेको छ? तिम्रो लक्षित तौलमा पुग्दा शरीरको बोसो पनि उत्तिकै घटेको छ? तिम्रो शरीरमा बल कत्तिको छ जस्तो महशूस हुन्छ? केवल कार्डियोमा मात्रै केन्द्रित भई तौल घटाउदा राम्रै मात्रामा मांशपेशीको पनि नाश हुने गर्छ जुन स्वास्थ्यको लागि त राम्रो मानिदैन | त्यसैले तौल घटाउने उद्येश्य लिंदा फ्याट तौल घटाउने उद्येश्य लिनु पर्छ |

म अझ थप्दै जान्छु : तिमीले भन्यौ १० किलो घटेपछि मसल बिल्डिंग गर्छु अर्थात् मांशपेशी बढाउने ट्रेनिङ्ग गर्छु| अहिले शरीरमा भएको मांशपेशीलाई घटाएर पछि फेरी बढाउन खोज्दा एक त समयको नाश, अर्को खर्च बढी हुने, शरीरको ताकत बढाउन समय लाग्ने, मसल बढाउनको लागि फेरी उत्तिकै खानु पर्ने, खाँदा फेरी बोसो लाग्ने अनि त्यस किसिमको ट्रेनिङ्ग सिक्न पनि बढी समय खर्चिनु पर्ने | अहिले भएको मांशपेशीलाई नै बढाउने कोशिस गर्यो भने धेरै माथि उल्लेखित सबैथोक बच्छ | जति मांशपेशी बढ्यो त्यति शरीरको मेटाबोलिज्म छिटो हुन्छ र फ्याट घट्ने गति पनि बढ्दै जान्छ अनि फ्याट जम्मा हुने प्रक्रिया लम्बिने हुन्छ | तिमीले थाहै नपाई शरीरको फ्याट घट्दै जान्छ तर तिमीले सोचे जस्तो तौल नघट्न पनि सक्छ किनकि फ़्याट्को तौल घटेको अनुपातमा मांशपेशी पनि बढेको हुन्छ |

साथी (अचम्म मानेर): यस्तो हुन्छ हैं? अब म के गरम त ?
म: शरीरमा मसल-मास (मांशपेशीको तौल ) बढाउन अहिले सम्मकै प्रचलित वेट-ट्रेनिङ्ग सिस्टम हो र यो अत्यावश्यक पनि छ | यसको साथसाथै कार्डियो ट्रेनिङ्ग पनि गर्नु पर्छ, खानपिनमा पनि ध्यान दिनुपर्छ | यसो गर्दा मसल बिल्डिंग हुँदै जान्छ, फ्यात लस पनि हुँदै जान्छ, शरीरमा ताकत पनि बढ्दै जान्छ अनि मेटबोलिज्म पनि छिटो हुँदै जान्छ | तिमीलाई वेट-ट्रेनिङ्ग गर्न आउँछ भने एकदम राम्रो, आउंदैन भने अनुभवी प्रशिक्षकसंग ट्रेनिङ्ग लिनुपर्छ |

यो कुनै काल्पनिक बार्तालाप होइन, मसंग परामर्श लिन आउने जतिलाई मैले सुझाब दिने गरेको बास्तबिक तथ्य हो र आजसम्म सयौंको यहि टेक्निक अपनाएर फ्याट घटाउने गरेको छु | तपाईं पनि पक्कै वेट लस र फ्याट लासको बारेमा केहि बुझिन्छ कि भनेर यति लामो लेख धैर्य गरी पढिरहनु भएको छ | तपाईंको पनि वेट लस गर्ने लक्ष्य छ भने याद गर्नुहोस, वेट लस लाई भन्दा फ्याट लस लाइ प्राथमिकता दिनुहोस | कुनै पनि उद्येश्य होस् एकपटक अनुभवी प्रशिक्षकसंग परामर्श लिंदा कति कुराहरु अनुमान लगाइराख्नु पर्दैन, यो होला, यसले बढी काम गर्ला या त्यसले भनेर रणभुल्लमा पर्नु पर्दैन | आफूलाई नचाहिने व्यायाममा समय खर्चिनु पर्दैन, पैसा खर्चिनु पर्दैन | यो लेखलाई बिट मार्दै गर्दा यो कुरा चै कहिले नभुल्नुहोला, “मसल्स बनाउनुहोस, फ्याट घटाउनुहोस र बलियो हुनुहोस” |

यहाँहरुमा फिटनेस सम्बन्धि केहि जिज्ञासाहरु छन भने निर्धक्क तलको इमेलमा लेखेर पठाउनुहोस
This email address is being protected from spambots. You need JavaScript enabled to view it.


संजित श्रेष्ठ
फिटनेस कोच/फिटनेस मोटिभेटर
फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया