Mobile menu

सार्कोपेनिया - मांशपेशी समस्या

Rate this item
(0 votes)

प्रकृतिको नियमलाई आजसम्म मानवजाति कसैले रोक्न सकेको छैन चाहे त्यो आँधिबेरी होस चाहे सुनामी, चाहे भुकम्प होस् या हाम्रो आफ्नै शरीरको जैविक प्रकृति | हाम्रो शरीरको आफ्नो छुट्टै संसार छ, २०४ वटा हाडहरु, ४०० वटा भन्दा बढी मांशपेशीहरु, हाडहरु जोड्ने लिगामेण्ट, मांशपेशीलाई हाडमा जोड्ने टेण्डन, पाचन प्रणाली, श्वास प्रश्वास प्रणाली, दिमागले गर्ने काम, मूटुको काम, हर्मोनहरुको उत्पादन जस्ता अनौठो लाग्ने शारीरिक क्रियाकलाप हेर्दा यो शरीर आफैमा एउटा ब्रम्हाण्ड जस्तो लाग्छ | यसरी सारा ब्रम्हाण्ड नै लागेर बनेको हाम्रो शरीरको आफ्नै प्रकृतिहरु छन् र धेरै अनौठा मध्य एक हो "सार्कोपेनिया" |

हामी जन्मेदेखि हुर्कंदै जाँदा शरीरको बनावट अनुरुप हाडजोर्नीको बिकासको अनुपातामै मांशपेशीको पनि विकास हुँदै गएको हुन्छ | जब उमेरको घडीको सुइ ३० कटेर जान थाल्छ, जन्मदिनको केकमा '३०' अंक राख्ने मन नभएपनि मैनबत्ती निभाउन फुके पश्चात हाम्रो शरीरको मांशपेशी पनि बिस्तारै बढारिन थाल्छ अर्थात् शरीरको उमेर ३० बर्ष लागेपछि मांशपेशी घट्ने क्रम शुरु हुन्छ जसलाई "सार्कोपेनिया" भनिन्छ | बढ्दो उमेरकै कारण हुने सार्कोपेनियामा स्केलेटल मसल्स (हाडमा टाँसिने मांशपेशिहरु) घट्ने क्रिया शुरु हुन्छ | बढ्दो उमेर संगै मांशपेशीमा ह्रास आउनु हाम्रो जैविक प्रकृतिकै नियम भए पनि शारीरिक स्वास्थ्यको लागि यो पक्कै पनि शुभ संकेत हुने छैन |

हाम्रो मन मस्तिष्कको होश बिना नै शरीरका अंगहरु चलाउने गर्छौं र त्यसमा मांशपेशीहरु चलेको हामी हेक्का नै राख्दैनौ | हामीलाई वास्तै हुँदैन जुत्ताको लेस बाँधेको, सब्जी काटेको, दाँत माझेको, खोकेको, खुड्किलो उक्लेको/झरेको, भारी बोकेको, व्यायाम गरेको र यहि समयमा यी शब्दहरु लेखेको अनि कम्प्युटरमा टाइप गरेको किनकि यी क्रियाकलापहरु हाम्रा दैनिकीहरु हुन् | यसमा मांशपेशीहरु चलेको हामीले वास्ता पनि गर्दैनौं | मांशपेशीले नै हाडजोर्नी हरुलाई चलाउने काम गर्दछ त्यसैले त हामी अनेक क्रियाकलापहरु गर्न सक्षम हुने गर्छौं | जब बढ्दो उमेर संगै लाग्दै जाने सार्कोपेनियाले छुन्छ तब मांशपेशीहरु घट्दै जाँदा कमजोर पनि हुँदै जान्छ | हेर्दा मोटाघाटा देखिए पनि मांशपेशी कम्जोर भएकोले हाडजोर्नी दुख्ने, सधै गरिरहने काम गर्दा पनि गलेको महशूस हुने, शरीरको विभिन्न भागको मांशपेशी दुख्दै आउने समस्या देखा पर्छन | यस्तो सानोतिनो पीडा हामी भित्रै लुकाउने गर्छौं अनि यसरी मांशपेशीमा आउने गिरावटको हाम्रो समाजमा कुनै चर्चा हुने गरेको छैन | सार्कोपेनियाकै कारण उमेर ढल्किदै गर्दा शारीरिक समतोल कम्जोर (poor balance) हुने, लड्ने, हाडहरु सजिलै भाचिने अनि हिंड्ने गतिमा कमी आउने जस्ता समस्याहरु पनि देखा पर्छन | यदि तपाई आफू कुनै खेलकूद वा अन्य व्यायाममा लाग्नु भएको छैन भने कति समस्या आफै अनुभव गर्न सक्नुहुन्छ नत्र त हाम्रा उमेर ढल्केका अभिभाबकहरुको अनुभव बाट पनि यो समस्याको बारेमा थाहा पाउन सकिन्छ |

सार्कोपेनियाको उपचारमा मांशपेशीको गिरावटमा पूर्ण रोकथाम गर्ने बिधि वा औषधी अहिले सम्म पत्ता लागेको अवस्था छैन तर यस प्रक्रियालाई ढिलाइ भने वजनयुक्त व्यायाम (वेट ट्रेनिङ्ग) वा प्रतिरोधात्मक व्यायाम (रेजिस्ट्यान्स ट्रेनिङ्ग) बाट गर्न सकिने तथ्य विभिन्न अनुसन्धानले वर्णन गरेको छ | उमेर ढल्किंदै जाँदा हर्मोनहरुको उत्पादनमा ह्रास आउने, मांशपेशीको मेटबोलिजम सुस्त हुने, प्रोटिनको संश्लेषणमा (प्रोटिन सिन्थेसिस) ह्रास आउने, शारीरिक रुपमा स्फूर्त नहुने नै सार्कोपेनियाका मुख्य कारणहरु भएको विभिन्न अध्ययनले बताएको छ | हुन त यो सार्कोपेनियाबाट खेलकूद वा व्यायाममा सक्रिय हुने व्यक्तिहरु पनि बच्न त सक्दैनन तर सक्रिय भन्दा बढी निस्क्रिय व्यक्तिहरुमा मांशपेशी घट्ने प्रभाव बढी हुने गर्दछ | ३० बर्ष नाघिसकेपछि बार्षिक करीब १%-२% को दरले मांशपेशी घट्ने क्रम शुरु हुन्छ अझ शारीरिक रुपमै निस्क्रिय हुनेहरुमा ३%-५% को दरले घटना सक्ने तथ्य "जर्नल अफ जेरोंटोलोजी"मा उल्लेख छ | वेट ट्रेनिङ्ग वा रेजिस्ट्यान्स ट्रेनिङ्ग गर्दा मांशपेशीहरु भरपुर उपयोग भएका हुन्छन, कति त च्यातिन्छन अनि फेरी पुनर्जीवित हुन्छन, हर्मोनहरु ह्रास हुन कम भइ मांशपेशीहरु उर्जाशील अनि शक्तिशाली भइरहेको हुन्छ, शरीरको समतोल पनि राम्रो हुने अनि शरीर पनि लचकदार हुँदै जाने गर्दछ |

अब जैविक प्रकृतिको नियम नै रहेछ, उमेर ढल्किंदै गएपछि व्यायाम गर्ने बडिबिल्डर्को पनि घट्ने नै रहेछ, खेलाडीको पनि घट्ने रहेछ, केहि नगरे पनि घट्दो रहेछ अनि के को टाउको दुखाउनु भन्ने लाग्ला कतिलाई तर यत्ति कुरा बुझ्नु जरुरी छ कि व्यायामले सार्कोपेनियालाई ढिलाइ मात्रै गर्दैन हाडहरुलाई पनि मजबूत बनाउने गर्दछ, शरीरलाई चलायमान बनाइराख्न मद्धत गर्छ | सार्कोपेनियाले कसैलाई भेदभाव गर्दैन, मोटोघाटो धनीको ढिलो घट्ने अनि दुब्लो गरीबको चांडै घट्ने भन्ने भिन्नता देखाउँदैन, महिला र पुरुष केहि भन्दैन, कुन ब्यबसायको हो, कुन प्रोफेसनको हो मतलब गर्दैन अनि यसैको उपचार गर्ने चिकित्सक सम्मलाई छोड्दैन | हाम्रो मांशपेशीले यत्ति मतलब गर्छ कि कसले यसको व्यायाम गर्छ, यसलाई स्फुर्त राख्छ र कसले यसको ख्याल गर्दैन | अब आफै सोच्नुहोस, तपाइँ कुन श्रेणीमा पर्नुहुन्छ? आफ्नो मांशपेशीको हेरचाह गर्ने कि मतलबै नगर्ने?

अन्ततः आफ्नो मांशपेशी लाई चुश्त र तन्दरुस्त राख्न अनि उमेरसंगै गिरावट हुनलाई ढिलाई गर्नको लागि जुन उमेरमा पनि वेट ट्रेनिङ्ग वा रेजिस्ट्यान्स ट्रेनिङ्ग गर्नु अत्यावश्यक छ | मेरो सानो सुझाब छ जो मोटो हुनुहुन्छ र केवल वजन घटाउन मात्रै आतुर हुनुहुन्छ, मोटो हुदैमा मांशपेशी धेरै छ भन्ने हुँदैन र तपाइँ एक्कासी वजन घटाउन तिर लाग्नु भएको छ भने अबश्य पनि तपाइको शरीरबाट मांशपेशी पनि घटेको हुन सक्छ | यसकारण वजन घटाउने उद्ध्यश्य त छदैंछ, मांशपेशी बढाउने वा जोगाउने उद्यश्य पनि पक्कै लिनु होला | यदि दुब्लो पातलो हुनुहुन्छ अनि म त फिट नै छु भन्ने सोच्नु हुन्छ भने पनि सार्कोपेनियालाई याद गर्नुहोस र मांशपेशी बढाउने व्यायाम तिर उन्मुख हुनुहोस | जुन उमेरबाट शुरु गरेपनि हुन्छ तर व्यायाम भनेको त अझ उमेर छँदै गरेको बेश (३० बर्ष लाग्नु भन्दा अघि) | धेरै बर्ष अघि देखि बारम्बार भन्दै आउने गरेको छु एउटै वाक्य "अहिले रहर जगाएर गर्नुस (व्यायाम) नत्र पछि करले गर्नुपर्छ", आफ्नो शरीरले दुख दिन थालेपछि कर नै लाग्छ व्यायाम गर्न |

यहाँहरुमा फिटनेस सम्बन्धि केहि जिज्ञासाहरु छन भने निर्धक्क तलको इमेलमा लेखेर पठाउनुहोस
This email address is being protected from spambots. You need JavaScript enabled to view it.


संजित श्रेष्ठ
फिटनेस कोच/फिटनेस मोटिभेटर
फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया

This article was published in Australia's Nepalipatra. 

img source: google