Mobile menu

जिम सम्बन्धि गलत धारणा

Rate this item
(1 Vote)

"व्यायामको" पर्यायबाची बनेको छ "जिम गर्नु" वा "फलाम उचाल्नु" | म पनि जिम गर्छु, उ पनि जिम गर्छ, फलानो पनि जिम जान्छ, यस्तै जिम गर्ने र जिम जानेको को संख्या दिनानुदिन बढिरहेको छ, जिमहरु पनि जताततै छ्याप्छ्याप्ती खुलिरहेका छन् | आजभोलि जिममा फलामका मेसिनहरु मात्र नभई धेरै थरिका उपकरणहरु भित्रिइसकेका छन्, व्यायाम गर्ने नयाँ नयाँ तरिकाहरु अविष्कार भएका छन् | आजकल जिममा फलाम उचाल्न मात्र भनेर जानु पर्दैन, हिड्न, दौडिन, साइकल चलाउन, झुण्डिन, उफ़्रिन अनि अनेक थरिको व्यायाम गर्न सकिन्छ | जसरी टेक्नोलोजीको बिकाश आकाशिदै गएको छ, मानिसहरुको जीवनशैली पनि सरल हुदै गएको छ, विभिन्न थरिका रोगहरु पनि उत्पति हुदै गएको छ | कति प्राणघातक रोगहरुको प्रमुख कारण त मोटोपन नै बनेको छ | मोटोपन घटाउँदा नै कति रोगको त निवारण गर्न सकिने हुनाले आजभोली जिम खचाखच हुने गर्छ | जिम भित्रको उपकरणहरु उपयोग गरि मोटोपन घटाउन, स्वस्थ रहन, शरीरलाई चुस्त र स्फूर्त राख्न, बडी बनाउन (मांशपेशी बढाउन) जस्ता उद्येश्य बोकेर प्राय जिम जाने गर्छन | त्यस मध्यमा केहि मात्रले आफ्नो उद्येश्य पूरा गर्न सफल हुन्छ, कोही लागी परिरहेका हुन्छन भने कोहि व्यायाम सम्बन्धि गलत धारणा लिई बसेका हुन्छन | त्यहि गलत धारणाका कारण कसैले उद्येश्य पूरा गर्न सक्दैनन्, कोही व्यायाम नै गर्न खोज्दैनन् अनि कति त बिचमै छाडिदिञ्छन, सकिदैन भनेर |

यस्ता केहि धारणाहरु छन् जुन मानिसहरुको (महिला र पुरुष दुवै) मन मस्तिष्कमा डेरा जमाएर बसेका छन्, स्वस्थ हुन नित्तान्त आबश्यक हुँदा हुँदै पनि गलत धारणाले आफैलाई बिश्वास दिलाई स्वस्थ रहन बाट बन्चित भैरहेका छन् | बर्षौं देखि सुन्दै आएको र अझै पनि चलन चल्तीमा रहेका धेरै मध्ये केहि गलत धारणाहरु निम्न प्रकार छन् |

१. फलाम उचालेर व्यायाम गर्न निकै गार्हो हुन्छ :
अबश्य पनि गार्हो हुन्छ | प्राय सबैजसो पहिलो चोटी गरिने क्रियाकलापहरु गार्है हुन्छन | सानो छँदा कलम समातेर शुरुको "क" लेख्न कम्ता महाभारत भएन? धेरै नै अभ्यास गरेर पो अहिले यहाँ खररर लेख्न सकियो त | साइकल चलाउन सिक्दाको क्षण याद गर्नुस त एकचोटी, ब्रेक कता, ह्यान्डल कता र पेडल कता | एउटा चलाउँदा अर्को बिर्सिने |
जिम गर्दा पनि चांडै नै ज्यान बनाउँछु, घटाउछु भनेर सकिंदैन, एकैचोटी धेरै वजन उचाल्छु भनेर पनि कहाँ सकिन्छ र | सबैजनाले थोरै बाट नै हो शुरु गर्ने | हल्का बाट शुरु गर्दै, व्यायाम गर्ने तौर तरिका सिक्दै बानी पार्दै जाने हो, पछि गएर त्येही गार्होमा नै रमाउने बानी पर्दै जान्छ |

२. फलाम उचाल्यो भने बुढेसकालमा ज्यान दुख्छ :
दुख, पीडा अनि सुखको अनुभूति नगर्न त मुढा, ढुंगा वा फलामको ज्यान लिएर जन्मनु पर्छ | अनि ज्यान दुख्न बुढेसकालनै कुर्न किन पर्छ र, जहिले पनि दुख्न सक्छ | हाडजोर्नी लचिलो नहुने, मंशापेशिमा शक्ति नहुने, ढाड दुख्ने अनि जोर्नीहरू दुख्ने हो भने उमेर ६० कुर्नु पर्दैन, २०-२५ मै बुढोको आभास दिलाइदिञ्छ शरीरले | व्ययामकै कारणले बुढेसकालमा ज्यान दुखेको तथ्य कतै भेटिन्न |
वजन युक्त व्यायाम (Weight Training) गर्दा मांशपेशी, लिगामेंट, टेण्डन अनि हड्डीहरु बलियो हुदै जाने, शरीर तन्दरुस्त हुने, स्वस्थ हुने तथ्य विभिन्न अनुसन्धानहरुले बयान गरिराखेको छ | तरिका मिलाएर गर्दै जाँदा जोर्नीहरू पनि लचिलो हुँदै जान्छ, उमेर ढल्किंदै गए पनि | व्यायाम गरेन भने चै पक्कै पनि दुख्ने सम्भावना हुन्छ, अनि तपाइको चिकित्सकले पुन स्वास्थ्यलाभको (Rehabilitation ) लागि फिजियोथेरापिस्ट लाइ भेट्ने परामर्श दिन्छ जहाँ तपाइँ बाध्य भएर वजन युक्त व्यायाम गर्नुहुन्छ | व्यायाम भनेको उमेर छँदै शुरु गर्ने हो, बुढेसकालसम्म तन्दरुस्त हुन |

३. जिम गर्यो भने हाइट (उचाइ) बढ्दैन :
जिम गर्दा गर्हुङ्गो फलामले थिच्दा थिच्दा शरीरको हाइट बढ्न दिदैन भन्ने मानसिकताले नेपाली दिमागमा धेरै पहिले देखि नै जरो गाडेको छ | यसरी जिम गर्द हाइट नबढ्ने तथ्य आजसम्म विज्ञानले पत्ता लगाउन सकेको छैन | तपाइँ हाम्रो शरीरको हाइट वंशानुगत हुने गर्दछ, जति उचाई हुन लेखेर आको छ, त्यतिनै पाउने हो | यदाकदा कुनै रोग लागेर, कुपोषणको कारणले हाइट नबढ्नु बेग्लै हुन सक्छ | व्यायाम र सन्तुलित पोषणको कारण हुर्कदो उमेरमा उचाइ बढ्न लाइ चै पक्कै मद्धत गर्दछ | आफ्नो हाइट जत्रो छ त्यसमा सन्तुष्ट हुनुपर्छ, अग्लो मान्छे बढी स्वस्थ हुन्छ भन्ने कुरो हुदैन, परिश्रम उत्तिकै गर्नु पर्दछ स्वस्थ हुन |

४. जिम गरेर छोड्यो भने मोटाउछ :
एक दिन कपाल काटेर एक महिनालाई पुगे जस्तो होइन व्यायाम, एक महिना गरेर बर्ष दिनलाई पुग्ने | जसरि दार्ही, जुँगा कपाल काटी, अनेक शृंगार गरी अनुहारलाई राम्रो पार्नु हुन्छ, व्यायाम गरी पूरा शरीरको स्वास्थ्यलाई पनि शृंगार गर्नुहोस, शरीरको बनावटलाइ पनि सजाउनुहोस | व्यायाम गर्दा पक्कै पनि शरीरको उर्जाको खपत हुन्छ र खपत भएको उर्जालाई पुनः समतोल गर्न वा त्यस्तै उद्ध्येश्य अनुसार मिलाउन उर्जा दिने पौष्टिक आहार सेवन गर्नुपर्ने हुन्छ | तपाइको शरीरलाई व्यायामको बानी परेजस्तै त्यसै अनुरुप खानपिनको पनि बानी परेको हुन्छ | जब तपाइँ लामो समयको लागि एकैचोटी ब्यायाम छोड्नु हुन्छ तब शरीरले पहिले जस्तो उर्जा खपत गर्दैन | यदि तपाइको खानपिन चै पैले कै जस्तो छ वा त्यो भन्दा बढेको छ भने शरीर मोटाउने निश्चितप्राय छ किनकि शरीरमा खानेकुरा थपिदै जाने तर उर्जाको खपत नहुने हो भने तपाईले खाएको खानालाई बोसोमा परिणत हुन करै लाग्छ | त्यसकारण, खानपिनमा ध्यान दिनु अत्याबश्यक हुन्छ र कुनै शारीरिक अस्वस्थता कारण बाहेक व्यायाम छाड्नु पर्ने कुनै बाध्यता हुनु हुँदैन |

५. एक दुई महिनामा पनि शरीरमा परिवर्तन देखिन, छोडें :
आतिञ्छन मानिसहरु चाडै नतिजा पाउन, पैसा तिर्यो सामान किन्यो जस्तो कहाँ हुन्छ ज्यान बनाउन, वजन घटाउन | तपाईको मानसिकता बलियो हुन सक्छ, नतिजा चाडै पाउनुपर्छ भन्ने लाग्न सक्छ, अरुले त गरेको छ म पनि गर्न सक्छु भन्ने भावना जागृत हुन सक्छ तर आफ्नो शरीर र शक्ति कुन स्तरमा छ, मुटूको क्षमता कति छ, हाडजोर्नी अनि मंशापेशिमा कत्तिको ताकत छ भन्ने हेक्का नहुन सक्छ | शरीरले पनि यत्तिकै नतिजा दिने हैन, नतिजा दिनु भन्दा अगाडी शरीर पनि आफु तयार हुनुपर्छ, व्यायामको हरेक गतिविधिलाई आत्मसात गर्ने क्षमताको अभिवृद्धि हुनुपर्छ | हत्केलाको छाला चाम्रो हुन्जेल सम्म त कुर्नै पर्ने हुन्छ अनि पहिलो एक दुई महिनामा शरीरले बल्ल व्यायाम संग र सन्तुलित भोजन संग परिचित हुने चाँजोपाँजो मिलाउँछ | शरीरका अंग अंगले सहयोग जुटाउछ तपाईलाई नतिजा दिलाउन, बस, जसरी म गर्न सक्छु, मैले नतिजा पाउनै पर्छ भन्ने आत्मविश्वास लिनुहुन्छ त्यसरी नै मैले आफ्नो शरीरको परिवर्तनको लागि धर्यधारण गर्न पनि तयार हुनुपर्छ भन्ने दृढता लिनुहोस्, नतिजा तपाइको चरणमा आइपुग्छ |

६. (अधिकांश महिला) पुरुषहरुको जस्तो ठूलो हुन्छ ज्यान :
तस्वीरहरूमा देखिने बडिबिल्डर हरुको शरीर पक्कै पनि जिम गरेरै बनाएका हुन्छन | अधिकांश महिला यो सोचिहाल्छन कि जिम गर्ने बित्तिकै शरीर ठूलो भईहाल्छ जुन उनीहरुको उद्ध्येश्यमा नपर्ने हुन्छ, वजन घटाउने मात्र पो हुन्छ त प्रमुख उद्ध्येश्य | यसरी जिम जाने बित्तिकै शरीर बडिबिल्डरको जस्तो होला कि भन्ने त्रासले नै प्राय महिला वर्गहरु जिम गर्न हिच्किचाउञ्छन | बडिबिल्डर एकै रातमा बन्ने व्यक्ति होइन, उनीहरुले बर्षौंसम्म गरेको व्यायामको अभ्यास, खानपिन र आरामको प्रतिफल हुने गर्दछ |
त्यसमाथि पनि महिलाको शरीरमा हुने हर्मोनका कारण पुरुषहरु जत्तिको प्राकृतिक रुपमा ठूलो शरीर बनाउन निकै कठीन हुन्छ | मांशपेशी बढाउने कृत्रिम हर्मोन हरुको सहयोगले मात्र महिलाहरुले पुरुष सरह शरीर बढाउन सक्ने क्षमता राख्दछ | वजन युक्त व्यायाम गर्दा जति फाइदा पुरुषहरुले लिने गर्दछ (सम्पूर्ण स्वास्थ्यमा) त्यति फाइदा महिलाहरुले पनि प्राप्त गर्न सक्दछ र महिलाहरुको लागि पनि व्यायाम उत्तिकै आबश्यक छ |

यहाँहरुमा फिटनेस सम्बन्धि केहि जिज्ञासाहरु छन भने निर्धक्क तलको इमेलमा लेखेर पठाउनुहोस
This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This article was published in Nepalipatra Australia in the title "जिम के ठीक के बेठीक"  

संजित श्रेष्ठ
फिटनेस कोच/फिटनेस मोटिभेटर
फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया