Mobile menu

बलियो लक्ष्य

Rate this item
(0 votes)

चंचल, सार्है चंचल थिएँ सानो छदा, एकै ठाउँमा अडिनै सक्दिन थिएँ | मलाई झेलेका छर छिमेकीहरु अझै सम्झन्छन , " यसलाई त हिड्नै आउंदैन थियो" | वास्तवमा म हिड्नै सक्दिन थिएँ, दौडीहाल्नु पर्ने | आजसम्म पनि खुड्किलो आयो भने दौडिहाल्छु | आधा जसो बाल्यकाल त दौडेर, उफ्रेर र लडेरै बित्यो होला | बिध्यालयमा वार्षिकी हुने खेलकुद प्रतियोगिताको कारण ले गर्दा पनि उमेर संगै प्रतिस्पर्धाको भावनाले मन गाजिन थाल्यो | मलाई छोटो दुरीको दौड औधि मनपर्ने हुनाले प्राय सधै १०० मि., २०० मि., ४०० मि र रिले दौडमा भाग लिन आतुर हुन्थे र कहिल्यै खालि हात फर्केको सम्झना पनि छैन |

फुटबल पनि निकै खेल्थें | १९९० को विश्वकपको माहोल थियो, फुटबलको जादुगर म्याराडोनाको चारैतिर चर्चा हुन्थ्यो | त्यो ताका गोरखामा बिजुली बत्ति आएको त्यस्तै २ बर्ष जति मात्र भएको थियो | विश्वकपको माहोल र म्याराडोनाको खेलले अर्कै छाप पर्यो मनमा | पुरै विश्वकप भरि म्याराडोनाको एउटा खेल पनि छुटाइन र आजसम्म पनि अन्धो फ्यान जस्तै छु | कुनै खेल थिएन म्याराडोनालाई नलडाइएको | मनमा के पस्यो कुन्नि, फुटबल राम्रो खेलेर मात्र हुदैन रैछ: छिटो, छरितो र बलियो पनि हुनु पर्दोरैछ | बलियो कसरी भईन्छ भन्ने ज्ञान त पटक्कै थिएन, छिटो दौडिन सक्यो भने बलियो भईन्छ जस्तो लाग्थ्यो | गोरखा बजारमा त्येतिबेलाका युवा पुस्ताहरु फुटबलप्रति निकै नै उत्साहित थिए, प्रतियोगिताहरु पनि निकै नै भैरहन्थ्यो, राम्रो खेल मैदान नहुदा पनि | खेलमा संलग्न हुने प्राय सबै युवाहरुमा बिहान सबेरै (झिसमिसे पनि नहुदै) दौडिन जाने चलन रहेछ, अनभिज्ञ रैछु म | औधि फुटबल प्रेमी मेरा दाजुहरु पनि दौडिन गएको थाहा पाएँ मैले | तर सानो छदा हामीलाई सधै राम्रो संग पढ्नुपर्छ, डाक्टर बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ भनेर मात्र रटाइन्थ्यो | तर आफुलाई भने बलियो र छिटो हुने भुत सवार जो थियो | साहिंला दाइ अन्जितको पछि पछि लागेर म पनि एकबिहानै उठेर दौडिन गएँ | दाइको साथीहरु घरघरबाट फुत्त निस्किन्थे र दौडिने हूलमा मिस्सिदै जान्थे | बिहानको त्यो सुनसानमा ८-१० जनाको जुत्ता एकैचोटी पिच बाटोमा बजारिंदा त सैनिकहरुले परेड खेले जस्तै सुनिन्थ्यो | पहिलो दिन दौडेकोले मलाई खोल्खोले भन्ने ठाउँमा रोकाए, "पहिलो दिन धेरै दौडिन हुन्न, यहि बसिरख, हामी एकैछिनमा फर्कन्छौं" भने र तलतिर दौडिए साथीहरुसंग |

दिउँसो एक्लै हिड्यो भने पनि तर्साउला जस्तो उराठ लाग्दो ठाउँ त्यो खोल्खोले, अँध्यारोमा पनि यति चहलपहल कहिल्यै देखेको थिइन, कोहि तलतिर दौडिदै थिए, कोहि फ़र्किदै थिए, बिस्तारै उज्यालो पनि हुदै थियो | झिसमिसेको त्यो शुद्ध वातावरणमा दौडिदा शरीर पनि हल्का भएको महशूस भयो | केहि बेरमै दाइहरु फर्किए र उकालोतिर दौडिन थालें म पनि संगै | निकै कष्टकर थियो उकालोमा दौडिन | खोल्खोले बाट हाम्रो घरसम्म पुग्न करीब १-२ मिनेटको मात्रै सिधा बाटो छ होला, प्राय उकालै उकालो छ | कति दौडिन्थे, कति फुटबल खेल्थें, त्यो बिहान दौडेपछि बेलुका सुत्नेबेलामा खुट्टाहरु त्यति बेस्सरी दुखेको कैहले अनुभव गरेको थिइन | भोलिपल्ट त जान्न दौडिन भन्ने लागिसकेको थियो, दिदीले (आमालाई हामी दिदि भन्ने गर्छौं सबै जना) पनि ज्यान दुखाइ दुखाइ किन दौडिन पर्यो तलाई भन्नु भयो | दाइले चै दौडिदै गएपछि दुख्न छोड्छ भनेपछि जति दुखे पनि सहुँला, दौडिन छोड्दिन, आखिरमा छिटो र बलियो त मलाई हुनुछ, सम्झिहालें | हो रहेछ, एक हप्ता दौडेपछि दुखाइ त मरेरै गयो, अलि छिटो छिटो दौडिदा पनि स्वास्वा कम हुदै गयो, त्यसपछि अलि बढी दुरी दौडिन शुरु गरे | अलि बढी दुरी पार गर्दा फेरी पनि दुखाइ शुरु भयो, शायद नया दुरी भएकोले होला, त्यो दुरी पार गर्दै जादा खुट्टाहरु दुख्न छाडे, छिटो दौडन सक्ने भएँ | त्यहि दौडिने क्रममा दाइको साथी मोहन रत्न शाक्य, अति नै कुशल गोलकिपर थिए गोरखाको, कसरतहरु सिक्न थाले उनीबाट | सडक छेउमा लगाइएको कंक्रिटको बारमा पुस अप गर्न सिकें, हात खुट्टा हरु तन्कौना सिकें | गर्दै जादा त्यो बारमा खुट्टा राखी पिचमा हात टेकी पुस अप गर्न सक्ने पनि भएँ म | शरीर पनि निकै बलियो हुदै गएको महशूस हुन थाल्यो | बलियो बनेर अरुसंग झै-झगडा गर्ने मेरो मनसाय कैहले पनि बनेन, फुटबल खेल्दा मलाई कसैले धकेल्यो भने आफै लड़ोस भन्ने कल्पना चाही खूब गर्थें, शायद त्यहि मेरो सपना थियो बलियो हुनुको | यसरि सानैमा मोहन दाइसंग धेरै कसरत सिक्ने अवसर पाएँ मैले |

त्यो बाल्यकालको क्षणलाई फर्केर हेर्दा अनौठो लाग्छ | लाग्दथ्यो, शरीरमा अर्कै रगत बगेको छ | एक ठाउँमा बस्न पर्यो भने उकुसमुकुस भएर आउथ्यो, कक्षामा बस्दा पनि कैले छुट्टी होला र खेल्न जाउँला जस्तो हुन्थ्यो | मेरो दिमागले केवल एउटै मात्र मन्त्र जप्थ्यो, बलियो हुनुपर्छ | त्यो उमेरमा तन्दरुस्त भन्ने शब्द नै थाहा थिएन मलाई | पुस अप, सिट अप, पुल अप गर्ने, फुटबल खेल्ने अनि खूब दौडिने त मेरो दिन चर्या नै थियो | बाल्यकालको एउटा प्रसङ्ग अझै पनि याद आउँछ | घरको ढोकाबाट निस्किन पाको छैन दौडिहाल्ने बानी, निस्केको मात्र थिएँ, घर छेवैको सुरेन्द्र बाबु दाइले रोक्नु भयो र सोध्नुभयो, "ठुलो भएपछी तेरो के बन्ने AIM (लक्ष्य) छ?" दाइको प्रश्न भुइंमा खस्न नपाउदै "फुटबल प्लेअर" भनिदिएँ | "धत्! पढेपछि AIM त डाक्टर, इन्जिनियर पो हुनुपर्छ, फुटबल प्लेअर बन्ने पनि AIM हुन्छ?", भनिहाल्नु भयो दाइले | शायद यो त्येही विश्वकपको सदगर्मीको कारण मेरो मानसपटलमा त्येही जुर्मुरिएको थियो | मा केहि नबोली उभिरहें, त्यसको मसंग कुनै जवाफ नै थिएन | मेरो मौनताको मतलब मेरो पढाई कम्जोर हो भन्ने थिएन, म कक्षामा प्राय प्रथम श्रेणीमा उत्तीर्ण हुने गर्दथें र यो कुरा दिलाई ज्ञान पनि थियो होला | त्यतिबेला सम्म केवल दौडेको, फुटबल खेलेको र आफू बलियो भएको कल्पनाको छाल भन्दा बाहिर निस्केको थिएन मेरो दिमाग | शायद सुरेन्द्र बाबुलाई यो क्षणको स्मरण छ कि छैन कुन्नि तर त्यसपछि मेरो दिमाग फुटबल भन्दा बाहिर निस्किन शुरु गर्यो | त्यो संवादले मेरो पढाइको लागि नया उर्जा थपिदिएको भान भयो, स्कूलको पढाइ बाहेक अन्य किताबहरु पढ्ने बनि बस्दै गयो तर फुटबल लै चटक्कै बिर्सिन सकेको थिइन, बलियो हुने भूत निस्केको थिएन |

पढ्दै जाने क्रममा आफ्ना उद्येश्यहरु कति परिवर्तन भए त्यसको कुनै लेखाजोखा छैन तर सानैमा सुरेन्द्र बाबुले भनेझै म इन्जिनियर पनि बने, सफ्टवेयर इन्जिनियर | पढाई संगसंगै बलियो र तन्दरुस्त हुनु पर्छ भन्ने मेरो उद्येश्य त मैले थाहै नपाई मेरो आवश्यकता बनिसकेको रहेछ | शारीरिक रूपमा बलियो र तन्दरुस्त हुनलाई जे जति व्यायाम गरियो, त्यसले बिस्तारै मानसिकता पनि बलियो बनाएको आज यहाँ उभिएर पुराना दिनहरुलाई नियाल्दा महशूस हुन्छ | शारीरिक रूपमै बलियो हुदा आत्मबिश्वास बढेको, सकारात्मक सोच आएको अनि चिन्तालाई दबाउन सक्ने क्षमतामा वृद्धि भएको पटक पटक आफैले अनुभव गरेको छु | पेशाले सफ्टवेयर इन्जिनियर बनेपनि जीवनको सबैभन्दा पहिलो जागिर व्यायाम प्रशिक्षक थियो मेरो | घन्टौंसम्म कम्प्यूटर अगाडी बसी Software Programming गर्नु भन्दा अरुलाई बलियो, तन्दरुस्त र स्वस्थ बनाउने Fitness Programming मा मन रम्न थालेको पनि धेरै नै बर्ष भईसक्यो | अझै पनि कति युवाहरु IT इन्जिनियर बन्न लालायित छन् तर मलाई त्यो पेशाले कहिले पनि मोहित बनाएन | बाल्यकालको जुन बलियो हुने लक्ष्य थियो त्यहि नै शिप अरुलाई सिकाउने मेरो पेशा बनेको पनि दसौं बर्ष बितिसक्यो | मेरो लक्ष्य आफू मात्र बलियो र तन्दरुस्त बन्ने रहेन अब, एउटा बलियो अनि तन्दरुस्त समाजको निर्माण गर्ने लक्ष्य बन्यो | स्वस्थ र बलियो शरीर निर्माण गर्न को लागि नियमित व्यायाम र सन्तुलित पोषण नित्तान्त आवश्यक छ, चाहे जुनसुकै उमेर होस्, चाहे जेसुकै व्यवसाय वा उद्धम होस् |

(बाल्यकालको प्रसङ्ग ११-१२ बर्ष उमेरको हुँदाको हो)

संजित श्रेष्ठ
प्रबन्धक/व्यायाम प्रशिक्षक
फिटनेस नेपाल

This Article was published first in Australia's Nepalipatra.

Feedbacks are welcome. If you have more queries please Contact Us.