Mobile menu

बोसोको उर्जा

Rate this item
(0 votes)

बोसो भन्ने बित्तिकै हामी कतिको सात्तो जान्छ होला, कतिलाई ठुलो भुँडी याद आउँछ होला, कसैले कम्मरमा, तिघ्रामा, पाखुरामा अनि घांटीमा झुन्डिएको बोसो सम्झन्छ होला, कतिलाई थकालीको थालीमा दिने तात्तातो घ्यू को बास्ना आउँछ होला त कसैलाई कोलेस्टेरोलको पिरलो हुन्छ होला | चाहे त्यो खसीको ह्याकुलामा हुने बोसो होस्, चाहे बुन्गुर वा बँदेलको तिन पत्रेमा (छाला, बोसो र मासु) हुने बोसो होस्, चाहे दालमा झान्ने घ्यू होस्, चाहे चिप्स फुराउने तेल होस्, चाहे हाम्ले दैनिक प्रयोग गर्ने अन्य तेल होस् हाम्रो शरीरमा प्रवेश गरे पछि त्यसको साझा नाम बोसो नै हुन्छ | हाम्रो शरीर चाहे मोटो होस्, चाहे पातलो होस् या ठिक्कको होस्, हाम्रो शरीर बोसो बिना सधै अधुरो नै हुन्छ | यधपी शरीरमा अधिक मात्रामा बोसो जम्मा भई शरीरको तौल चाहिने भन्दा बढी हुनुलाई मोटोपन भनिन्छ |

मोटोपनले निम्त्याउने विभिन्न रोगहरु अनि शारीरिक जटिलताका कारण आज मोटोपन बिश्वब्यापी रोगमा चित्रित भैसकेको छ | साधारण स्वास्थ्य परीक्षणको लागि डाक्टर भेट्दा पनि मोटोपन भए त्यसलाई कम गर्न तौल घटाउने परामर्श पाइहालिन्छ, कुनै रोग लागेको छ भने त अझ बढी खतराको घन्टी बजिहाल्छ | अनि अधिकांशले मोटोपनको कारक बोसो नै देख्छन, नदेखुन् पनि कसरी जो शरीर भरी महशूस गरिएको हुन्छ | त्यसपछि कतिले त बोसो अनि बोसोयुक्त खाना नै नखाने प्रण गर्छन भने कतिले अरु खानेकुरा हरुमा पनि बन्देज लगाउँछन् शरीरको तौल घटाउने अभिप्रायले | यसरी खानेकुरामा बन्देज लगाउँदा कोहि कोहिको तौल घट्छ, कतिको केहि समय सम्म मात्र तौल घट्छ तर अधिकांशको घट्दैन | कति त निरुत्साहित हुन्छन, जति गरे नि घट्दैन भनेर पेट फुट्ने गरि खाइदिञ्छन, खाइसकेपछि बेकार खाएछु भनेर पाछुताउँछन् अनि फेरी बन्देज शुरु हुन्छ | यो प्रक्रिया चलिरहन्छ | साधारणतया, हामी कहिल्यै बुझ्ने कोशिस गर्दैनौ बोसो के हो भनेर |

हामीले बुझेका छौं एउटा स्वस्थ शरीरको लागि सन्तुलित भोजन अत्याबश्यक छ भनी तर त्यस सन्तुलित भोजनमा बोसो पनि पर्छ भनेर हामी बिर्सिन्छौँ | एउटा स्वस्थ शरीरको लागि अपरिहार्य पोषिलो तत्व हो बोसो, हाम्रो शरीरको दैनिक क्रियाकलापलाई निरन्तरता दिने उर्बोसोको उर्जा जा हो बोसो | बोसो समस्याको कारण हो भनेर परिचित हुनुभन्दा पूर्व यो नभई शरीर नै चल्दैन भन्ने बुझ्नु जरुरि छ | मांशाहारी मध्ये हामी धेरै नेपालीले विभिन्न जनावरहरुको मासु शरीरको अंग अंग छुट्टिने गरि किनेका छौं, पकाएका छौं अनि स्वाद लिएका छौं | हामीले देखेका छौं ह्याकुलामा भएको बोसो, मासुको बिचबिचमा कुदेका बोसोका रेखाहरु, छाला मुनिको बोसो, बुन्गुरको तिन पत्रे मासुमा हुने बोसो , कुखुराको मुटु, पांग्रा, कलेजोको छेउछाउमा हुने बोसो आदि | जसरि हरेक जनावरको शरीरमा बोसो हुन्छ (प्राकृतिक बनावट अनुसार मात्र फरक पर्ने हो), हामी मान्छेको शरीरमा पनि त्येस्तै बोसो हुन्छ, हाम्रा अन्तरिक अंगहरुमा पनि बोसोको तह हुन्छ | जसरी शरीरमा दिमाग, मुटू, फोक्सो, कलेजो, आन्द्रा, भुँडी आदिको आफ्नै भूमिका हुन्छ, त्यस्तै बोसोले पनि आफ्नै काम गरिरहेको हुन्छ, अन्तरिक अंगलाई जोगाइराख्ने हुन्छ, शरीरमा तापक्रम अपरिचालकको (इन्सुलेटर) काम गरिराखेको हुन्छ, रगतमा कोलेस्टेरोल बनी बगेको हुन्छ | मुलतः शरीरको दैनिक गतिविधिलाई निरन्तरता दिने उर्जा (शक्ति) को भण्डारको रूपमा हरदम क्रियाशील हुन्छ |

पूर्ण बोसो रहित भोजन गर्नु मात्र मोटोपनको सरल उपाय कदापी होइन | हामीले जानेका सुनेका महत्वपुर्ण भिटामिन ए, डी, ई र के बोसोमा नै मिश्रित हुन्छन र बोसोले नै शरीरलाई चाहिने यी भिटामिनहरु ओसार्ने काम गर्छ | हामी मोटोपन घटाउने मनसायले बोसो रहित खानेकुरा मात्र खाँदा शरीरलाई चाहिने बोसोको मात्रा कमि हुन जान्छ जसले गर्दा यी महत्वपूर्ण भिटामिनहरु शरीरले सोस्न नसक्ने हुन सक्छ र पक्कै पनि शरीरमा यी भिटामिनहरुको कमि हुन सक्छ | अनि यी भिटामिनहरुको कमीले यसमा निर्भर गर्ने अरु तत्वहरुको पनि सहि उपयोग नहुन सक्छ | यसो भनिरहँदा त्यत्रो शरीरभरि भएको बोसो शरीरले उर्जाको रूपमा उपयोग गर्दैन त ? हाम्रो शरीरले बोसो बाट मात्र हैन मांशपेशी बाट पनि उर्जा लिने गर्दछ | बोसोको सेवन नगर्दा शरीरलाई चाहिने उर्जा हामीले सेवन गरेको कार्बोहाइड्रेट बाट शरीरले क्षण भरको लागि लिने गर्दछ भने लामो समय सम्म भोकै बस्दा ज्यादातर उर्जा मांशपेशी बाट लिने गर्दछ; मंशापेशिको तौल घट्ने खतरा ज्यादा हुन्छ र मांशपेशी घट्दा यसको शरीरमा नकारात्मक असर पर्न पनि सक्दछ (प्राय बोसोको तौल न्यून रुपमा कमि हुन्छ वा नहुन पनि सक्छ) | अब आफै विचार गरौँ मोटोपन घटाउन बोसोयुक्त खाना मात्र त्यागेर के हामी स्वस्थ खादैछौँ कि कालान्तरमा अस्वस्थता तिर धकेलिंदै छौं |

बोसोयुक्त खानेकुरा खानुपर्छ भन्दैमा गतिनै छाडेर खाँदा शरीरलाई चाहिने भन्दा बढी उर्जा उत्पादन नहुँदा बाँकि बोसो नै भएर बस्छ | हामीले खाने बोसो मात्रै मोटोपनको एक्लो कारक पक्कै होइन | हामीले सेवन गर्ने प्रोटिन र कार्बोहाइड्रेट पनि शरीरले उपयोग गर्न सक्ने भन्दा अधिक मात्रा बोसोमा परिणत भएर शरीरमा बस्दछ | तसर्थ सन्तुलित भोजन हाम्रो हर कालखण्डमा महत्वपूर्ण छ | हाम्रो शरीरको सबैभन्दा ठूलो उर्जाको भण्डारनै बोसो हो तर यसको मतलब जति ठुलो भुँडी भयो अथवा शरीरमा जति धेरै बोसो भयो त्यति नै धेरै उर्जा उत्पन्न हुने भने पक्कै पनि होइन | अब बोसो खाए पनि नहुने, नखाए पनि नहुने तर शरीरको तौल चैं कसरी घटाउने भन्ने चिन्ताको बिषय कायमै छ | शरीरको तौल घट्नु/बढ्नु वा घटाउने/बढाउने धेरै कुरामा निर्भर गर्छ, जस्तै उमेर, लिङ्ग, जीवनशैली, भोजन, पेशा, निन्द्रा, आदि | सोझै तौल घटाउनलाई यो खान हुन्छ त्यो खान हुदैन, यो व्यायाम गर्न पर्छ त्यो व्यायाम गर्न हुदैन भनेर तौलिनु भन्दा पहिले आफ्नो जीवनशैली कस्तो छ, हामीले खाने भोजन कस्तो छ केलाउनु नै उपयुक्त हुन्छ |

बोसोकै परिचर्चा गरिरहँदा हाम्रो भोजनमा बोसोको मात्रा कति छ त्यो ध्यान दिनु अत्याबश्यक छ | यो बोसोयुक्त खाना राम्रो त्यो बोसोयुक्त खाना नराम्रो भन्नु भन्दा पनि कतिको परिमाणमा सेवन हुन्छ त्यो मुल्यांकन गर्नु पर्छ | भनिन्छ चिनी पनि धेरै खायो भने तीतो हुन्छ, त्यस्तै स्वस्थकर बोसोयुक्त खानेकुरा पनि धेरै भयो भने त्यसले अन्ततः बोसो नै बनाउने हुन्छ | मोटो भइन्छ भनेर जिन्दगी भरी भोजनलाई मध्यम वा न्युनतम स्तरमा पनि राख्न सकिन्न | शारीरिक क्रियाकलाप अनुसार शरीरले उर्जा खपत गर्ने हुँदा त्यसै अनुरुप शरीरले खानाबाट उर्जा खोज्दछ | ग्लुकोज बाट छिटो र छोटो समयको लागि उर्जा उत्पन्न गर्ने गर्छ भने बोसो उर्जामा परिणत हुन धेरै समय लाग्छ र लामो समय सम्म उर्जा दिने गर्दछ | बोसोलाई शत्रु मात्र ठानेर यसलाई हाम्रो खाना बाट पन्छाउनु भन्दा यसको उपयोगिताको बारे जानकारी लिनु सधै बुद्धिमता हुन्छ भने मोटोपनको र यस संग सम्बन्धित रोग छ भने व्यायाम तथा भोजनको पेशा सम्बन्धित बिज्ञसंग परामर्श लिंदा पक्कै पनि हामी सबैको लागि हितकर हुनेछ | नियमित व्यायाम र सन्तुलित आहारको सहयोगले नै मोटोपनलाई नियन्त्रण गर्न सकिन्छ अनि स्वस्थ रहन सकिन्छ भन्ने कुरामा कसैको दुई मत नहोला |

संजित कुमार श्रेष्ठ
रजिस्टर्ड एक्सर्साइज प्रोफेसनल/प्रबन्धक - फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया

This Article was published first in Australia's Nepalipatra.

Feedbacks are welcome. If you have more queries please Contact Us.