Mobile menu

व्यायाम प्रशिक्षक नै किन ?

Rate this item
(0 votes)

भन्छन, एउटै कोखबाट जन्मेको जुम्ल्याहा त एकै हुदैनन्, हामी हर मानिस कसरी एकै हुन सक्छौ? हाम्रो जिउडाल, रहनसहन, बंशज, इच्छा आकांक्षा अनि सोच फरक फरक हुनाले हामी सबै उस्तै हुनै सक्दैनौ | शारीरिक व्यायाम आफैमा एउटा बिज्ञान हो र यस भित्र पनि अनेक तौर तरिका अनि विधा हरु हुन्छन् | प्रचलित व्यायामहरु मध्ये योग, जुम्बा, एरोबिक्स, हिडाई, दौड, बक्सिङ्ग (फिटनेसको लागि), क्रस्फ़िट, बुट्क्याम्प, वेट ट्रेनिंग, आदि पर्छन | सबैलाई एउटै खालको व्यायामले काम गर्छ भन्ने कुनै निश्चित हुदैन तसर्थ आफुलाई कुन व्यायाम गर्दा राम्रो हुन्छ भन्ने पत्ता लगाउनु जरुरी पर्छ | हाम्रो शरीर परिबर्तनशिल छ, उमेर संगै हाम्रो शरीरको बिज्ञान पनि परिबर्तन हुदै जाने तथ्यलाई हामी नकार्नै सक्दैनौं, जस्तै मोटोपन बढ्ने, मांशपेशी घट्ने, हांड खिने, हर्मोनमा ह्रास आउने, शारीरिक दुर्बलता बढ्दै जाने जस्ता क्रियाकलाप हर व्यक्तिले अनुभव गरेको र गर्नै पर्ने तथ्य हुन् | यो प्राकृतिक नियमलाई रोक्न त सकिन्न तर केहि थाम्न भने अबश्य सकिन्छ, प्रक्रियालाई लम्ब्याउन सकिन्छ |

प्रथमः आफ्नो उद्ध्येश्यलाई मध्य नजर गर्नु पर्छ; बोसो घटाउने, तौल घटाउने, तौल बढाउने, मांशपेशी बढाउने, कुनै पनि खेलको लागि तयार हुने (शारीरिक सुगठन नै हुन पर्छ भन्ने छैन), शारीरिक बलको विकास गर्ने आदि | त्यसपछि व्यायाम सम्बन्धि आफु संग कत्तिको ज्ञान छ, अनुभव छ त्यसानुरूप व्यायाम शुरु गर्नु उपयुक्त हुन्छ | यदि छैन भने दक्ष तथा अनुभवी व्यायाम प्रशिक्षकको सुझाब र सहयोग लिंदा छिटो, छरितो र व्यायाम सम्बन्धि धेरै कुरा बुझ्ने वातावरण मिल्दछ | हुन त व्यायाम सम्बन्धि परामर्श लिने चलन हाम्रो समाजमा चलिसकेको छैन, शायद अरुले व्यायाम गरेको देख्दा, हिडेको देख्दा, दौडेको देख्दा, फलाम उचालेको देख्दा सजिलै संग गर्न सकिन्छ भन्ने मानसिकताको विकास भएको हुन सक्छ | फलाम त हो नि, उचाल्दे भैहाल्यो नि, आफ्नो उद्द्यश्ये पुरा भैहाल्छ किन प्रशिक्षक चाहियो भनेर सोच अबश्य आउन सक्छ | त्यो सानो फलामको प्लेट वा डम्बेल हेर्दा पो हाम्ले उचालेको हो त, बास्तबमा त्यो त हाम्रो शरीरको मांशपेशी, हाडजोर्नी, स्नायुहरुको सहायताले पो उठेको हो त, जसको आफ्नै अनुशासन हुन्छ | व्यायाम पनि बानी हो, शरीर चल्ने अनुशासन बिपरित गर्दै जाने बानी बस्यो भने कुनै न कुनै समयमा शरीरले दण्डित गर्छ गर्छ, ढाड दुख्ने रोग लागेर हुन्छ कि, मांशपेशी दुखेर हुन्छ कि, घुडा दुखेर हुन्छ कि एकदिन शरीरले ब्याज समेत असुल्छ | व्यायामको सही अनुशासनको अनुसरण गर्ने हो भने सधै पुरस्कृत भइन्छ, अझ कत्ति हाडजोर्नी दुख्ने समस्याको समाधान पनि हुदै जान्छ |

सकेसम्म हरेक बस्तु वा सेवामा सर्बोत्कृष्ट चाहनु कुनै नौलो कुरो होइन | घर किन्न परेमा सर्बोत्कृष्ट मोर्ट्गेज ब्रोकर, कलेज पढ्न परेमा सर्बोत्कृष्ट माइग्रेशन एजेन्ट, घर बनाउन परे अनुभवी इन्जिनियर, रोग लागेर जचाउन परेमा सर्बोत्कृष्ट डाक्टर, हाम्रो रोजाइ सधै हामी ढुक्क हुने खालको हुने गर्दछ | जब सर्बोत्कृष्ट डाक्टरले स्वास्थ्य सुधार्न को लागि व्यायामको परामर्श दिन्छन (हुन त डाक्टरले व्यायाम प्रशिक्षकको सहयोग लिन लाई सुझाउदैन), त्यो सर्बोत्कृष्ट रोजाई फोकटमा झर्दछ | निश्चित नै एउटा मुटूको बिशेषज्ञले यति घण्टा हिंड्नु, यति घण्टा दौडिनु, यो योग गर्नु, त्यो व्यायाम गर्नु भनेर परामर्श दिदैनन (नेपालमा मात्र दिन्छन) | के कस्तो उद्ध्येश्य हो त्यो अनुरुप परामर्श दिने अनि सेवा दिने काम व्यायाम प्रशिक्षकले गर्दछ | जसरी औषधी पसलमा धेरै औषधी हुने गर्छ, अनि मुलतः औषधीको काम निको पार्ने हुन्छ तर पनि हामी टाउको दुख्दा पेटको औषधी कदापि सेवन गर्दैनौं त्यसरीनै व्यायामको काम शरीरलाई तन्दरुस्त बनाउने हुन्छ, स्वस्थ आफै हुँदै जाने प्रक्रिया हो, एक किसिमको व्यायाम सबै व्यक्तिलाई लाभदायक हुनै सक्दैन | त्यतिमात्र नभई सबैले सबै व्यायाम सजिलै सिक्न सक्छ भन्ने कुराको जिम्मेवारी कसैले लिन सक्दैन | व्यक्तिको शारीरिक बनावट, उमेर, लिङ्ग, जीवनशैली, कुनै रोग लागेको/नलागेको, शरीरको लचिलोपन, व्यायामको अनुभव आदि कुराहरुमा निर्भर गर्दछ कुनै पनि व्यायामको प्रभावकारिता | व्यायाम यो गर, त्यो गर भनेर त ३-४ महिना अघि शुरु गरेको व्यक्तिले पनि सिकाउन सक्दछ, अनुभव बिना कुनै व्यक्तिले के सिकाउन सक्दैन भने व्यायाम गर्दै जादा कहाँ निर बिग्रियो, यसले लघु वा दीर्घ कस्तो खालको असर गर्छ, जुन व्यायाम मिलाउन सक्दैन त्यसको अर्को बैकल्पिक व्यायाम कुन हुन सक्छ जस्ता अनेकौं सुक्ष्म सुचनाहरु हुन्छन जुन कुरा निरन्तर अध्ययन अनि अनुभव बाट जानिन्छ |

आजको जीवनशैली सकेसम्म हाम्रो शरीरलाई दुख नै गर्न नपर्ने खालको छ त्यसैको फलस्वरूप दिनानुदिन हाम्रो आफ्नो शरीर अनि स्वास्थ्य पनि बिग्रिदो छ | आफ्नो स्वास्थ्य अनि शरीरको लागि व्यायामको अर्को विकल्प छैन भन्दा पनि केहि फरक नपर्ला तर कुनै नौलो यात्रा गर्दा आफै बाटो पत्ता लगाउँछु भनेर अघि बढ्ने कि जि.पि.एस. राखेर ढुक्क अनि सटिक यात्रा गर्ने भने जस्तै अरुले जे गरेको छ त्यहि पछ्याउछु भन्ने कि आफ्नो उद्ध्येश्य पनि पुरा हुने, नराम्रो असर पनि नपर्ने अनि दिर्घकालीन ज्ञान पनि हासिल गर्ने बाटो रोजी अनुभवी तथा दक्ष व्यायाम प्रशिक्षकको परामर्श लिएर अगाडी बढ्ने; यो रोजाइ यहांहरुकै |

कसलाई चाहिन्छ व्यायाम प्रशिक्षकको परामर्श र सेवा:
यदि तपाइँ व्ययाममा शिकारु हुनुहुन्छ भने:
व्यायाम गर्न हाम्रो मानसिकता तयार हुन सक्छ तर शरीर नहुन सक्छ, हाडजोर्नी हरुमा लचिलोपन नहुन सक्छ, मांशपेशीहरु सोचे भन्दा बलियो नहुन पनि सक्छ | अनुभवी प्रशिक्षकले हरेक कुरा नापतौल गरेर परामर्श दिन सक्छ, सिकाउन सक्छ अनि शरीरको पोस्चर मा ध्यान दिलाउन सक्छ |

यदि तपाईंलाई कुनै रोग लागेको छ अनि डाक्टरले नै व्यायाम गर्न सल्लाह दिएको छ भने :
व्यायाम प्रशिक्षकको काम रोग निको पार्ने कदापि होइन, तर कुनै रोग लागेको छ चाहे त्यो मधुमेह होस्, उच्च रक्तचाप होस्, मुटू सम्बन्धि होस्, कसैको निगरानीमा व्यायाम गर्नु निकै नै महत्वपुर्ण हुन्छ | व्यायाम जानेर गर्दा स्वस्थकर हुन्छ, आफुलाई रोग छ भन्ने थाहा हुँदा हुँदै जथाभावी गर्दा ज्यानकै लागि खतरनाक पनि हुने गर्दछ | प्रशिक्षकले तपाईंको डाक्टर संग समन्वय गरी काम गर्न सक्ने क्षमता राख्ने हुदा तपाईंको सुरक्षित व्यायाम प्रथम दायित्व हुनु पर्दछ |

अनेक कोशिश गर्दा नि नतिजा पाउन सकिएन भने :
तपाईंले गलत व्यायाम रोज्नु भएको पनि हुन सक्छ, खानपिनमा तथा रहनसहन पनि बदलिएको हुन सक्छ, व्यायाम नपुगेको नि हुन सक्छ, बढी पनि भएको हुन सक्छ, के मिलेन, कहाँ बिग्रियो यो पत्ता लगाउन प्रशिक्षकको सहायता खाँचो पर्ने हुन्छ |

संजित श्रेष्ठ
फिटनेस प्रशिक्षक-फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया

This Article was published first in Australia's Nepalipatra.

Feedbacks are welcome. If you have more queries please Contact Us.