Mobile menu

फलामसंग एक घण्टा

Rate this item
(0 votes)

शुरु शुरुमा नियमित ब्यायाम गर्नु मेरो ठुलो रहर आज मैले यसलाई नियमित आबश्यकताको सूचिमा राखेको छु | बिहान उठ्ने बित्तिकै दात माझ्ने, खाना खानु अघि राम्ररी हात धुने, शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने जस्ता अत्याबश्यक नित्य कर्म जस्तै हप्ताको ४-५ दिन ब्यायाम मेरो आबश्यकता बनेको छ | यो आबश्यकता परिपूर्ति गर्न म हर हालतमा तत्पर हुने गर्दछु | सिड्नी जस्तो अति ब्यस्त शहरमा मा मात्रै कम ब्यस्त छैन | यहाको काम को चाप र व्यस्तताले थकाई र नैराश्यता निम्त्याउने गर्दछ | मलाई पनि लग्छ थकाई, म पनि हुन्छु निराश तर यसलाई कारण बनाइ आफुलाई नियमित ब्यायामबाट बन्चित हुन नदिन हरपल कोशिश गरिरहन्छु |

जब जिम जाने कुरा मेरो मानसपटलमा ठोक्किन पुग्छ, शरीरले आधा थकाई त त्यसै नै घटेको महशुस गर्न थाल्छ | जसरी एउटा गाडी चलाउन इन्धन अति अपरिहार्य बस्तु हो, त्यसरी नै हाम्रो शरीर चलाउन को लागि पनि उर्जा चाहिन्छ, जुन मुख्यतः हामीले खाने र सेवन गर्ने खाध्य बस्तु बाट प्राप्त हुन्छा | लगभग आधा घण्टा अगाडी यस्तै शरीरलाई उर्जा प्रदान गर्ने खानेकुरा खाएपछि पूराका पुरा थकाई मरेको भान हुन्छ | जिम्मा ब्यायाम गर्न उपयुक्त पोशाक पहिरि चाहिने सामग्री झोलामा राखी मा तयार हुने गर्दछु |

जिममा छिरेपछि झोलालाई सुरक्षित स्थानमा बिसाइ हातमा भएका गहना म झोलामा राख्ने गर्दछु, त्येही गहनामा अल्झेर कुनै दुर्घटना नहोस भनेर | करीब ८-१० मिनेट जति पुरै शरीरका मांशपेशी र जोर्नीहरू तताउने र तन्काउने (वार्म अप एबम स्ट्रेचिङ्ग) ब्यायाम म नियमित रुपमा गर्दछु | ब्यायाम गर्नु भन्दा अगाडी वार्म अप (Warm Up) र स्ट्रेचिङ्ग (Stretching) गर्ने कुरामा मानिसहरुले आ-आफ्नै धारणा राख्ने गर्दछन | यसो गर्दा शरीरमा भएको उर्जा खेर जान्छ जुन व्यायामको लागि कमि हुन्छ भनि केहि मानिसहरु सिधै ब्यायाम गर्न तिर लाग्छन | मलाई भने वार्म अप र स्ट्रेचिङ्गको ब्यायाम गर्दा नै फाइदा पुगेको हुनाले म यो गर्न कहिले छुटाउन्न |

यसो गर्दा शरीरमा बिस्तारै ताप बढेको महशूस गर्दछु, मांशपेशीहरु तन्किंदा आनन्द आउन थाल्दछ अनि मुटूको धड्कन पनि बिस्तारै बढ्दै जान्छ र फोक्सोले पनि ८-१० मिनेटसम्म अनुशासित श्वास प्रश्वास गर्ने अवसर पाउछ | यहाँको जिम बेलुका प्राय भिडनै हुने गर्दछ | आफूले सोंचेको व्यायाम गर्नलाई सामान कुर्नुपर्ने बाध्यता हुन्छ, तर धेरै समय कुरेर बिताउँदा एक घन्टामा आफ्नो व्यायामको यात्रा कदापी फत्ते गर्न सक्दिन | यहि १० मिनेटको समयमा म आफूले गर्ने व्यायामको योजना बनाउँछु, यो सामान पाइन भने त्यसको बैकल्पिक व्यायामको योजना पनि मनमनै बनाइसकेको हुन्छु | अब यो एक घन्टाको समय मेरो लागि युद्ध बराबरको हुन्छ जसमा मेरो शरीरले जीत हासिल गर्नुपर्छ | धेरै समय सामान कुरेर मेरो व्यायाम को समय एक घण्टाभन्दा बढी लम्बिए यो शरीरले पूर्ण रूपमा जीतको सामना गर्न सक्दैन | निश्चित समयाबधि भित्र, निश्चित मात्रको तौल र निश्चित पटक सहि ढंगले दोहोर्याउने प्रक्रियालाई नै व्यायाम भनिन्छ | यसलाई पूर्णरूपमा आत्मसात गर्दा नै शरीरले बढी फाइदा लिन सक्छ नत्र यो शारीरिक कार्यमा परिणत पनि भईदिन सक्छ, जुन पुरा का पुरा व्यायाम नहुन सक्छ | शरीरले थकाई मात्र हासिल गर्छ | त्यसैले यो एक घण्टाको समयमा म युद्धमा खटिएको सेना जस्तै कठोर र अनुशासित हुने गर्दछु |

जब व्यायाम गर्न शुरु गर्छु शरीरभित्र रगत उम्लिन शुरु गरेको महशूस हुँदै आउँछ, बिस्तारै मांशपेशीमा भदौको बाढी पसेजस्तो भान हुन्छ | मांशपेशीको आकार बदलेको प्रष्टै देखिन्छा, व्यायाम नगरेको अबस्थामा भन्दा बेग्लै, अलि फुल्लेको, अलि ठूलो | यो बेला जोशको सिमा रहदैन, त्यो रबरभित्रको फलाम चिउरा चपाए झैं चपाइदिउ जस्तो लाग्छ, त्यस्तो फुर्ति आउँछ | एकछिन अघि सम्म झेलिएका थकाई र नैराश्यताको त नामोनिशान रहँदैन | यसरी व्यायाम गर्दै जाँदा मुटूको धड्कनको गति अति नै तेज हुँदै जान्छ, मुटू नै बाहिर निस्केला झैं स्याँ स्याँ बढेर आउँछ जसरि द्रूत गतिमा दौडिदा हुन्छ | यसरी नै मुटूको स्वास्थ्य पनि राम्रो हुदै जान्छ भनेर धेरै अनुसन्धानहरुमा पढेको छु | मांशपेशीहरु कसिलो हुँदै जान्छ, ऐना हेर्दा लाग्छ बाल्यकालमा टिभिमा हेरेको महाभारतको पात्रहरुले पहिरेको कवच जस्तो सुई घोच्दा पनि सुई नै भाँचिन्छ कि जस्तो | शरीरको तापक्रम त खाडी मुलुकको गर्मी भन्दा के कम होला र, लुगा निचार्यो भने पनि एक बटुको पसिना त निख्रिन्छ होला |

पुरै व्यायाम सकेपछि एकछिन मांशपेशी फुलाउने व्यायाम गर्छु जसलाई Flexing भनिन्छ | यो पनि एक प्रकारको व्यायाम नै हो | धेरै वजन उचाल्ने व्यायाम ले कसरत गर्न नसकेका शरीरका साना साना मांशपेशीहरुको व्यायाम यो Flexing ले गर्दछ | श्वासलाई शरीरभित्रै एकछिन दबाएर सकेसम्म प्रत्येक मांशपेशीलाई दबाउने, निचोर्ने गर्दछु | मांशपेशीहरु पटपट फुट्ला जस्तो हुन्छा, पहिले लुकेका स्नायुहरु झुल्किन थाल्छन | सास रोकेको कारण अनुहार राताम्मे हुन्छ, कन्चटका नसाहरु फुल्लिन थाल्छन, घित्राका स्नायुहरु तछाड मछाड गरी बाहिरिन्छन | छालामै टाँसिने नसाहरु प्वाट्ट फुटेर रगतको खोलो पो बग्ला जस्तो देखिन्छ | अनि सास फेर्दा फेरी मुटूको धड्कन उत्तिकै तेज हुन्छ, बिस्तारै धड्कनको गति घट्दै जान्छ, शरीरमा बेग्लै आरामको महशूस हुन्छ | केहीछिन तातेको मांशपेशीहरुलाई सेलाउनको लागि फेरी तन्काउने व्यायाम गर्छु जसलाई cool down stretching भनिन्छ | यसपछि मेरो एक घण्टाको युद्ध समाप्त हुन्छ, अनि मात्रै कसै संग मजाले कुरा गर्न थाल्दछु, फोनको विवरण हेर्दछु | यो एक घण्टा मैले पूरा आफ्नो शरीरलाई दिएको हुन्छु, अरु कसैसंग गफ गरेर, फोनमा कुरा गरेर व्यायामलाई एउटा शारीरिक कार्यमा परिणत मा कुनै पनि हालतमा सम्झौता गर्न सक्दिन | मैले खाएको पौष्टिक आहारको सदुपयोग गर्नुछ मलाई, मेरो शरीरको उर्जा शरीरकै लागि खर्चिनु छ यो एक घण्टा भित्र | यो फलामसंगको एक घण्टा मैले संसार भुलेको हुन्छु, मलाई केवल याद हुन्छ सही तरिका, मात्रा अनि प्रशिक्षित मांशपेशीहरु |

संजित कुमार श्रेष्ठ
रजिस्टर्ड एक्सर्साइज प्रोफेसनल/प्रबन्धक - फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया

This Article was published first in Australia's Nepalipatra.

Feedbacks are welcome. If you have more queries please Contact Us.