Mobile menu

फिटनेसको मौसम र मानसिकता

Rate this item
(0 votes)


प्राय जाडोमा शरीर नसेलाए पनि व्यायाम गर्ने मानसिकता भने निकै सेलाउँछ, पक्कै पनि न्यानो लुगा सार्है प्यारो हुन्छ | खानाको स्वाद पनि अत्यन्तै मीठो हुने गर्दछ, अझ दालमा घ्यू र जिम्बु झानेको त झनै स्वादिलो | व्यायाम कम र खानाको मात्रा ज्यादा हुनाले प्रायको तौल जाडोमा बढेकै हुन्छ | गर्मीको आभाष पाए लगत्तै आफ्नो शरीरको चिन्ता शुरु हुन्छ, यो गर्मीमा त अलिकति भए पनि फिट हुनै पर्यो, नत्र समुद्रको किनारमा जादा लाजै मर्दो हुन्छ | थोरै मात्रले गर्मीमा फिट देखिन पुरै जाडो याममा व्यायाम गर्न छुटाउदैन र पक्कै पनि उनीहरु व्यायाम नगर्नेहरु भन्दा भिन्न र शरीर को बनोट पनि मिलेको देखिन्छ |

गर्मीको शुरुवात संगै जिम तथा फिटनेस क्लबहरुको दशैं शुरु हुन्छ अष्ट्रेलियामा, ग्राहकलाइ आकर्षण गर्न अनेकौ लोभ लाग्दा सहुलियत कार्यक्रम लागू गर्छन जिमहरुले | प्राय सबै जिममा कम्तिमा ६ महिना जति आफ्नो ग्राह्यता थाती राख्न मिल्ने व्यवस्था भएकोले मानिसहरु गर्मि छउन्जेल जाने र जाडोमा कम गइन्छ भनि थाती राख्ने गर्दछन | अनि त्यो थाती पनि सकिदै जान्छ, मौसम पनि तात्दै जान्छ, जिम जाने जोश पनि आउदै जान्छ, नयाँ नयाँ भर्ना पनि शुरु हुँदै जान्छ | यो कदापी भुल्नु हुदैन कि धेरै जसो जिम मा एक बर्षसम्म ग्राह्यता लिन्छु भनेर सम्झौता गरिएको हुन्छ | यो सम्झौतामा जति समय थाती राखे पनि जिमले त्यो समय पछि नअसुली छाड्दैन | यो त भयो जिमको प्रक्रिया, कुरा गरौँ मानसिकताको | शुरु शुरुमा जिम जानेहरुको प्राय एउटै मानसिकता हुने गर्दछ, जिम गएपछि फिट भइन्छ | पक्कै हो, यहाँका जिममा निकै आकर्षक, मनै लोभ्याउने खालका व्यायामका उपकरण्हरु हुन्छन | अरुले सजिलैसंग त्यो उपकरण प्रयोग गरेको देख्दा कसैलाई पनि लाग्न सक्छ जिम आएपछि फटाफट फिट भइन्छ | जिमकै कर्मचारीले (प्रशिक्षक) १५-२० मिनेटमा उपकरणको बारेमा भट्याउन थाल्छ, खेल खत्तम, यस्तो लग्छ यत्ति गरेपछि फिट भइन्छ |

भोलिपल्ट जिम गयो, खेल त बल्ल पो शुरु भयो, एक्लै | हिजोको त्यो १५-२० मिनेटको गफ त कहाँ गयो कहाँ, प्राय सबै रणभुल्लमा पर्छन | अनि अरुले के कसरी गरेको छ यता उता आँखाका डल्ला फर्काइ फर्काइ हेर्यो अनि सिक्यो | ट्रेडमिल देखि ट्राईसेप्स एक्सटेन्सन मेसिनसम्म अरुले कसरी गर्छन चियाउदैमा एक महिना बितेको त पत्तै हुँदैन | कति त त्येही ट्रेडमिलमा हिडेर मात्रै महिना बिताइदिञ्छ | त्यसपछि इन्टरनेट र यूट्युबमा खोजी शुरु हुन्छ अरुले कसरी गर्दो रैछ व्यायाम भनेर | यसरी सिक्दा सिक्दै गर्मी सकिन्छ, ज्यान सेलाउन थाल्छ, फिट हुने कहिले ? यहाँ नेपालको जस्तो जिमको व्यवस्था छैन भन्ने धेरैलाई थाहै हुदैन, नेपालमा त जिममा प्रशिक्षकले सिकाउछ, यहाँ त छुट्टै पैसा तिर्नु पर्ने चलन हुन्छ | यसरी यहाको जिमको PERSONAL TRAINER को सहयोग लिने हो भने हामी प्राय नेपालीहरु उनीहरुको शुल्क सुनेरै जिब्रो टोक्ने गर्छौं | कसै कसैले "हेरौं न" भनेर सहयोग लिन्छन भने कसैले छिटो र छरितो नतिजाको लागि | यसरी एक्लै जिम गएर छिटो परिणाम नआएपछि ज्यानमा आलश्यता त आइहाल्छ, जिमको ढोकासम्म पुग्ने मानसिकता पनि बिलिन हुदै जान्छ तर एक बर्षको सम्झौता त छदैछ, नगए पनि महिनैपिच्छे आफ्नो खाताबाट शुल्क भने घटेको हामी कतिले त बिर्सी पनि सक्छौं |

हाम्रो नेपाली समुदायमा अहिले स्वास्थ्यप्रति सचेत हुनेको संख्या बढ्दै गैरहेको कुरा फेसबुकमा आउने "जिमको चेक इन", जुन जिममा गएपनि भेटिने उल्लेखीय नेपालीहरुको जमातले पुष्टि गर्दछ | युबाहरु बलिष्ठ शरीर र शारीरिक सुगठनतिर पनि उत्तिकै आकर्षित भइरहेका छन् | यो हेर्दा जिम सम्म पुग्ने चेतना चै पक्कै आएको हो तर आफ्नो शरीर, आफ्नो स्वास्थ्य अनुकुल र आफ्नो उद्येश्य अनुसार कस्तो खालको व्यायाम गर्नुपर्छ भन्ने कुरा सिक्ने सचेतना चै अझै आएको छैन, जिममा भर्ना हुने बित्तिकै केहि हप्तामै, केहि महिनामै फिट भइन्छ भन्ने मानसिकताले डेरा जमाएर बसेकै हुन्छ | सबैको जीवनशैली एउटै हुँदैन, सबैको शरीर एकै प्रकारको हुँदैन, सबैको स्वास्थ्य स्थिति एकै हुँदैन र सबैको उद्येश्य पनि एकै हुँदैन, यसर्थ सबैको व्यायाम गर्ने तरिका एउटै कदापी हुँदैन | अरुको व्यायाम सिको गर्नु भन्दा पहिले आफैलाई प्रश्न गर्नुहोस "के उसले गरेको व्यायाम सतप्रतिशत सहि छ त? के मेरो फिटनेस उद्येश्यलाई उसले गरेको व्यायाम उपयुक्त होला त ?" व्यायाम शब्द सुन्दा जति लाभदायक सुनिन्छ, अरुले गरेको देख्दा जति लाभदायक देखिन्छ, त्यत्तिकै घातक हुन्छ भन्ने पत्यार नलाग्न पनि सक्छ | व्यायामका सहि तरिका नअप्नाउदा मांशपेशीहरु च्यातिने, जोर्नीहरू दुख्ने, ढाड दुख्ने, गानो जाने, टेण्डन (हाड र मासु जोड्ने तन्तु) र लिगामेंट (हड्डी जोड्ने तन्तु) च्यातिने र अनेक किसिमका अस्थायी वा स्थायी घटना घट्न सक्छ |

सानो उदाहरण लिउँ, हामी पहिलोपटक गाडी सिक्दै छौं, हामीले धेरै पटक देखेका छौं अरुले गाडी चलाएको | के हामी आँट गर्न सक्छौं एकैचोटी ब्यस्त सडकमा गाडी कुदाउन, कुनै प्रशिक्षणबिना? शायदै कसैलाई आँट हुन्छ त्यसो गर्नलाई किनकि दुर्घटना हुन्छ, चोटपटक लाग्छ, गाडी बिग्रिन्छ, पैसा खर्च हुन्छ भन्ने सोचिहल्छौ हामी र सकेसम्म राम्रै प्रशिक्षण लिने गर्दछौं | यो प्रसङ्ग व्यायाम संग अर्थहीन लाग्न सक्ला, कहाँको बडेमानको गाडी कहाँको स्यानो डम्बेल (Dumbbell) | अनेक तौलमा आउने यहि सानो डम्बेल सहि तरिकाले उचाल्न नजान्दा, शरीरको विभिन्न हाडजोर्नी लाई जोड्ने लिगामेंट च्यातिने डर हुन्छ, सन्तुलन गर्न नसक्दा खसेर टाउको फुट्ने, खुट्टाको औला भाचिने, च्यापिने, ढाड-घांटी सड्किने अनेक दुर्घटना हुन सक्छ | पिडा त यहि स्यानो डम्बेलले पनि दिन सक्छ, पैसा खर्च गराउन सक्छ र बर्षौभरि व्यायाम गर्न नसक्ने पनि बनाउन सक्छ | हेर्दा सबै कुरा सरल देखिन्छ, गर्दा त्यत्तिकै विचार पुर्याउनु पर्ने हुन्छ | गलत तरिकाबाट व्यायाम गरिरहदा तत्काल त्यसले असर नदेखाए पनि त्यो नराम्रो असर थपिदै जादा एकैचोटी पछि देखाउने गर्दछ, पिडा निम्त्याउदछ |

हामी जिम अबश्य पनि राम्रै उद्येश्य लिएर जाने गर्दछौं | व्यायाम गरी नराम्रो पीडा (घटना घटेर आउने पीडा) बोकी घर फर्कने रहर कसैको हुँदैन, हुनु पनि हुँदैन | हाम्रो फिटनेस उद्येश्य कत्तिको ब्यबहारिक छ भन्ने कुरा पहिले नै पहिल्याउनु अत्याबश्यक छ | यदि तपाई जिममा शिकारु हुनुहुन्छ, यदि तपाईले लामो समय देखि व्यायाम गर्दा पनि राम्रो नतिजा हासिल गर्नसक्नु भएको छैन भने एउटा अनुभवी प्रशिक्षकसंग परामर्श लिई मिलेसम्म प्रशिक्षण लिनु उपयुक्त हुन्छ | सही ढंग र सुरक्षित तरिकाले व्यायाम गर्न सिक्नु पनि जीवनको अर्को लगानी हो, जसले हामीलाई हरपल स्वस्थ बन्न सिकाउछ, व्यायामको लागि आत्मनिर्भर बन्न सिकाउँछ | गर्मी यसपालीमात्रै आउने होइन, यो हरेक साल आउछ, हाम्रो उमेर जति ढल्के पनि यो आइरहन्छ | अनि व्यायामको मौसम हुनुहुदैन, यो सधै अपरिहार्य छ | जब राम्रो संग व्यायाम गर्न जानिन्छ, स्वस्थ रहन, फिट रहन, शरीर बनाउन, तौल घटाउन, बढाउन हामीलाई Personal Trainer को आबश्यकता नै पर्दैन, सधै आबश्यकता पर्नु पनि हुँदैन |

संजित कुमार श्रेष्ठ
रजिस्टर्ड एक्सर्साइज प्रोफेसनल/प्रबन्धक - फिटनेस नेपाल
सिड्नी, अस्ट्रेलिया 

 

This Article was published first in Australia's Nepalipatra.

Feedbacks are welcome. If you have more queries please Contact Us.