Mobile menu

पुरु दाइ, एक खुट्टा र प्रेरणा

Rate this item
(2 votes)

 

प्रेरणाको स्रोत सबैका आ-आफ्नै हुन्छन | शारीरिक सुगठनमा लाग्ने व्यक्तिहरु तस्विरहरुमा देखिने, इन्टरनेटमा छ्याप्छ्याप्ती भेटिने अत्यन्त सुगठित शरीर भएका व्यक्तिहरु बाट प्रभावित हुनुमा कुनै शंकै छैन | अझ मिस्टर ओलम्पिया, संसारकै शारीरिक सुगठनको सबै भन्दा ठूलो प्रतियोगिताक बिजेता तथा उप बिजेताहरुनै प्राय युवाहरुको प्रेरणाको स्रोत हुन्छन | मेरो पनि खासै फरक थिएन |

मेरो बुबा फोटोग्राफर हुनुहुन्थ्यो अनि घरमै थियो हाम्रो फोटो पसल | पसलमा ठुल्ठुला पोस्टरहरु झुण्ड्याइएका हुन्थे; भगवानका तस्विरहरु, प्रकृतिका दृश्यहरु हिन्दि तथा अंग्रेजी चलचित्रका नायक तथा नायिकाहरुका तस्विरहरु | मलाई सधै आकर्षित गर्ने ति अनेक तस्विरहरु मध्ये एउटै मात्र तस्विर थियो आर्नोल्ड्को | "कमान्डो" भन्ने फिल्मको पोस्टरमा आर्नोल्ड्ले समातेको त्यो हतियार (नाम थाहा छैन मलाई - मेसिन गन भन्थें), अनुहारमा दलेको त्यो कालो टाटे पाटे मोसो, सैनिक ले लगाउने जस्तो लुगा (दुवै हात पुरै देखिने खालको), हातमा निस्केको त्यो मासुको डल्लो अनि त्येही डल्लो माथि बगेको एक त्यान्द्रो बाक्लो नसा देख्दा त्यसै त्यसै लोभिन्थें, सुम्सुम्याउथें | थाहा थिएन को हो आर्नोल्ड भनेर, नाम पनि त्यहि पोस्टरमा देखेर थाहा पाएको हो | आज को जस्तो इन्टरनेट भएको भए गूगल गरेर हेर्न छोडदिन थिएँ होला पक्कै पनि | आर्नोल्डको त्यो तस्विर देख्न साथ् आफ्नो पाखुरा उचाली हेर्थें, खिस्स दात देखाउदै "भंगेराको टाउको जत्रो पनि छैन" भनेर आफ्नै खिल्ली उडाउथे | बुबालाई लाग्थ्यो होला सबै पोस्टरहरु फटाफट बिक्रि होस् तर आफ्नो मनमा चाहिं सबै बिक्रि भए पनि त्यो एउटा चाहिं कसैले नकिनोस | त्यो तस्वीरले सधै मनमा कौतुहलता पैदा गराउथ्यो, कसरि बन्छ होला त्यत्रो पाखुरा | शायद त्यहि तस्विर थियो मेरो शरीर ठूलो बनाउने प्रेरणाको स्रोत |

जीवनको तरङ्ग संगै बहदै जादा प्रेरणाका स्रोतहरु पनि फेरिदारहेछन | २०६० सालतिर नेपालकै सबै भन्दा पुरानो व्यायामशाला, नेपाल व्यायाम मन्दिरमा व्यायाम गर्न दर्ता हुदा म नेपालको शारीरिक सुगठनको शुन्यमा थिएँ, पुरै अनभिज्ञ, कसैलाई चिन्दिन थिएँ | नेपालमा शारीरिक सुगठन प्रतियोगिता कुन कुन हुन्छ समेत ज्ञान थिएन मलाई | फिलिपिन्सको बागियो भन्ने शहरमा IT मा स्नाकोत्तर गर्दा गर्दै त्यहाँ शारीरिक सुगठन प्रतियोगितामा भाग लिसकेको थिएँ र नेपालमा पनि प्रतियोगिताको मन्चमा उभिने चाहना जिवितै थियो | नेपालमा त्यसबेला धर्मश्री शारीरिक सुगठन प्रतियोगिता निकै प्रख्यात भएको खबर पनि सानै देखिको साथी पारसको मुख बाट थाहा पाएको हो र "तैले धर्मश्रीमा भाग लिन पर्छ, तँलाई व्यायाम मन्दिरमै व्यायाम गर्दा ठीक हुन्छ" भनेर पनि उसैले सुझाएको हो | काठमाडौँको जुनै जिम गए पनि मेरो लागि सबै नौलो नै हुने थियो, साथीकै सुझाबमा मा नेपाल व्यायाम मन्दिरमा पुगेको हूँ | पटक पटक सुनेको पनि थिएँ, "ज्याठामा (नेपाल व्यायाम मन्दिर अबस्थित ठाउँ) त खतरा खतरा बडिबिल्डरहरु आउछन जिम गर्नलाई" | म प्राय दिउंस वा साँझमा जान्थे जिम गर्नलाई (व्यायाम गर्नुको प्रचलित भाषा) र कहिलेकाहीं बिहान पनि पुग्थें खतरा खतरा बडिबिल्डर हेर्ने धोको बोकेर | म जाने समयमा आउदैन थिए होला तर मैले जिम गरेको हेर्ने भिड चैं हुन्थ्यो | पछि थाहा पाएँ, जिम अन्तै गर्ने रैछ, प्रतियोगिताको समयमा चैं नेपाल व्यायाम मन्दिर बाट भाग लिने रैछ खतरा खतरा बडिबिल्डरहरु त |

त्यो एक दिनको कुरो, सधै आफु जाने समय, व्यायाम मन्दिरको प्राङ्गणमा पाइला टेकेको मात्र थिएँ जिमहलबाट ठूलो ठूलो आवाज अनि हाँसो कानमा बज्रिन बेरै लागेन | ढोकाबाट मात्र छिरेको थिएँ, एकछिन टक्क अडिन बाध्य भएँ, गजबको दृश्य नियाल्न | जिन्दगीमा कहिले नदेखेको फुर्ति देखियो, खतरा खतरा देखिने बडिबिल्डर हेर्ने धोको त्यसै बिलिन भए, आर्नोल्ड्लाई पनि बिर्सिन बिबश भएँ | एक जना व्यक्ति एउटा खुट्टा अनि अर्को बैसाखीको सहारामा निसंकोच उफ्रेको, हाँसेको र ठूलो स्वरमा बोलेको देख्दा लाग्यो एउटा निश्चल बालक आफ्नै घर आँगनमा उफ्रेको, खेलेको अनि नाचेको जस्तो | उसको त्यो चंचल्तालाई नियाल्दा ऊ कुनै व्यायामशालामा होइन, आफ्नै घर आँगनमा खेलिरहेको छ जसलाई कुनै कुराको मतलबै छैन, कसले के भन्छ भन्ने आनाकानी रत्तिभर छैन | कहिले पुल अप बारमा झुण्डिएर १५-२० खेप एकैचोटी निर्धक्क साथ् पुल अप गरेको छ, कहिले बैसाखीको सहारामा हावामा उडेर किक हानेको छ त कहिले केवल क्रस मेसिन माथि चढेको छ | एउटा खुट्टा मात्रै सध्य छ भनेर विश्वास नै गर्न गार्हो, यी सबै गर्न एउटा संग्लो मान्छेलाई नै हम्मे हम्मे पर्छ | उसको चर्तिकला हेरिरहूँ जस्तो लाग्थ्यो |

म पनि जिम गर्ने लुगा लगाई जिम गर्न अग्रसर भएँ | व्यायाम गर्दै जादा शरीर फुल्लिंदै जान्छ र मेरो फुल्लेको शरीर देखेर उही व्यक्ति मेरो सामू आई ,"भाइको ज्यान राम्रो रैछ, धर्मश्रीमा खेल्नुपर्छ" भन्न भ्याइहाले | यहि मेसोमा बोलि मिसाउने मौका जुर्यो, परिचय पनि साटासाट गरियो | वहांको नाम पुरुषोत्तम शहुखल रहेछ, असनबासि | सबैले पुरु भन्ने रहेछ, मैले पनि पुरु दाइ भन्न थालें | म हरेक पटक जादा पुरु दाइलाई नै खोज्न थालें तर वहाँ प्राय बिहान आउनुहुदोरहेछ र कहिले काहीं मात्र दिउँसो तिर, आएको बेलामा भेट भइराख्थ्यो, हरेक बोलीमा जोश हुन्थ्यो, हरेक हाँसोमा जाँगर | पछि वहाँ दिउँसो तिरै आउन शुरु गर्नु भयो र दसौं धर्मश्रीको तयारीमा नजाउञ्जेलसम्म पुरु दाइ मेरो व्यायाम पार्टनर बन्नु भयो | पुरु दाइसंग को संगत जति बढे पनि एउटा अपांगको छनक भने कहिले पनि महशूस गरिन | यस्तो लाग्थ्यो, मानिस अपाङ्ग रोगले वा शरीरले मात्रै हुदैन, मानसिकताले पनि हुन्छ | त्यो अपाङ्ग भन्ने शब्द कता बिलिन भए जस्तो हुन्थ्यो पुरु दाइ भेटेपछि | १०० किलो बेञ्च प्रेस सजिलै आंटने, एउटा खुट्टाले नै लेग प्रेस गर्ने, लेग एक्सटेन्सन, ह्याक स्क़्वाट लगाएत सबै जिमका व्यायाम हरु गर्ने हिम्मत कहाँ बाट आउंथ्यो होला, हेर्दै चकित पर्दै जान्थे म | ऐना सामू उभिई शरीर फुलाउने पोसिंग गर्नुहुन्थ्यो, मेरा लगायत त्यस जिम हलमा उपस्थित सबैका नजरहरु पुरु दाइमा नै गएर अडिन्थे, यस्तो थियो, थोरै मात्रै तयारी गरे पनि प्रतियोगितामा धेरैलाई पराजित गर्न सक्ने बलिस्ठ र मिलेको शरीर | समय समयमा सम्झिरहनु हुन्थ्यो मिस्टर बागमती, मिस्टर धर्मश्रीमा आफ्नो बलिस्ठ शरीर प्रदर्शन गरेको र यो सुन्दा त्यहि बाल्यकालको आर्नोल्ड्को पोस्टर हेर्दा जसरि शरीर तातो रगतले तरंगित हुन्थ्यो त्यस्तै रगत नसा नसामा भेलिन्थ्यो, १०औं धर्मश्रीमा भाग लिने उर्जा त्यसै त्यसै चुलिंदै जान्थ्यो | बाल्यकाल देखि नै दाहिने खुट्टा हुर्किन छोडेको सुनाउने पुरु दाइका आँखा कहिल्यै बिचल्लित देखिन | त्यति बलियो शरीर, त्यति बलियो मानसिकता, बिचल्लित हुनुपर्ने कुनै कारण पनि थिएन | बिचल्लित त म हुनुपर्ने थियो यदि शरीरका सबै अंग भए पनि आफूलाई फूर्तिलो राख्न सकिन भने, एक घण्टा भए पनि जिम आई फलाम संग खेलिन भने, व्यायाम गरिन भने र धर्मश्रीमा भाग लिईन भने |

पटक पटक आफूले गरेको यात्राको किस्साहरु सुनाउनु हुन्थ्यो पुरु दाइ, मन्त्रमुग्ध भएर सुनिरहन्थें म | कहिलेकाहीं शनिबार बिहान स्वयम्भु जाँदा पुरु दाइ त्यहीं भेट हुन्थ्यो, म साथीहरु संग हुन्थें, "एक्लै आउनु भएको पुरु दाइ?" भनी सोध्दा, "हैन, साथीहरु आउंदै छ, उकालो चढ्दै छ" स्वाँ स्वाँ पनि नगरी जवाफ दिनुहुन्थ्यो | पुरु दाइको त्यो फुर्तिलो स्वभाव देखि मेरा साथीहरु चकित त परे नै, मैले जिमको कथा सुनाउंदा ट्वाँ नै पर्थे | एउटा खुट्टा, अर्को बैसाखीको सहारा अनि स्वयम्भूको त्यो ठाडो उकालो, दुइ खुट्टे साथीहरु भन्दा पहिले नै पुगेको देख्दा कसलाई पत्यार लाग्ला? अझ पहिलो पटक मनकामना पुगेको कुरा त झनै रोचक | त्यतिबेला केबलकार बन्ने कल्पना त केवल स्व. लक्ष्मण बाबुले मात्रै गर्नु भएको थियो होला | आँबु खैरेनी बाट पैदल ठाडो उकालो हिड्नु पर्ने, पुरु दाइको परिवारले उकालो हिड्न नसक्ने जिकिर गर्दा गर्दै पनि यात्रा गर्न तम्सिनु भयो |
संगै जाने साथीहरुले पुरु दाइलाई १० देखि १२ घण्टा जति लाग्ने अनुमान लगाएका थिए, अचम्म!!! सबै भन्दा पहिला पुगी साथीहरुलाई नै कुर्नु परेको को कुरा हास्दै सम्झिनु भयो | म पनि धेरै पटक पुगेको छु मनकामना हिडेरै, पुरु दाइको जोशिलो ब्याख्या सुन्यो भने अहिले पनि हिडेर मनकामना जाउँ जाउँ लाग्छ |

२०६२ साल भदौ २४ र २५ गते १०औं धर्मश्री सम्पन्न भयो, ६५ केजी तौल समुहमा म पनि सहभागी भएँ | पहिलो पटक राष्ट्रिय स्तरको मन्चमा पाइला टेक्ने मेरो सपना पूरा भयो, चौथो भएँ म | मेरो तौल समूहको नतिजा पछि पुरु दाइ भेट भयो र भन्नु भयो, "राम्रो थियो, ठिकै छ, अनुभव भयो, अर्को चोटी छँदै छ नि" | मलाई नतिजाको दुख कुनै अंशमा थिएन | पुरु दाइको त्यो हौसलाले भरिएका कुराहरु, जोशिला क्रियाकलापहरु मेरो मस्तिष्कमा भुमरी सरह घुमिरहेको हुन्थ्यो | एउटा मात्रै खुट्टाको सहारा अनि अरुलाई शक्तिशाली बन्नुपर्छ भनेर हौस्याउने बानी, यस्तो व्यक्ति कहिल्यै पनि अपाङ्ग हुनै सक्तैन | खेलमा मैले हारे पनि पुरु दाइको संगतमा धेरै जितेको छु | नियमित ब्यायामकै कारण आफ्नो शरीर स्वस्थ र मानसिकता यति बलियो भएको कुरा नबिराई भनिरहने पुरु दाइको बानीले मलाई संघर्षशील बनायो, शरीर जस्तो भए पनि मानसिकता अपाङ्ग हुनुहुदैन भन्ने पाठ सिकायो | पुरु दाइको संगत परे देखि आफुलाई प्रेरित गर्न इन्टरनेटमा बिदेशी पात्रहरु खोजिरहन परेन | पुरु दाइ, एक खुट्टा र प्रेरणा आज पनि म संगै छ |

-संजित श्रेष्ठ
फिटनेस नेपाल