Mobile menu

दुई छाक नै भातको आनन्द लिन सकूँ

Rate this item
(6 votes)

मनमा पनि अनेक कुरा खेल्छ, आज भातको खेल्यो | मेरो शरीरको बनावट हेर्दा धेरैले एउटै प्रश्न तेर्स्याउछन, " तपाईं त फिटनेसमा लागेको मान्छे, यस्तो राम्रो शरीर छ, भात त खानुहुन्न होला है?" यो प्रश्नको जवाफमा म पछि आउंछु | अहिले अलि मोडिएर बाल्यकालतिर जाम |

मैले सम्झेसम्म गोरखामा त्यस्तै २०४५ सालतिर मात्रै बिजुली बत्ति आएको हो | मट्टीतेलबाट बल्ने टुकी, लालटिन (lantern को नेपाली नाम रैछ), पानस मैण्टोल र मैनबत्ती प्राय चलनचल्तीमा थिए त्यसबेला | म मनकामना बोर्डिङ्ग्मा ३ कक्षामा पढ्थे | मेरो बुबाको Panasonic को कालो रंगको रेडियो थियो, ब्याट्री राखेर चल्ने, प्राय सधै बज्थ्यो त्यो रेडियो अनि रेडियो नेपाल | “बारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो, भन्ने नहुने माया...." भन्ने गीत अझै कानमा गुन्जिरहन्छ | टेलिफोन र टिभी त किताबमा मात्रै देखेको थिएँ, कम्प्युटर र मोबाइल फोन त कल्पना पनि गर्न सकेको थिइन | त्यसबेला साथीभाईसंग कुद्ने र खेल्ने बाहेक अरु उपाए थिएन बाल मनोरन्जनको, आजको जस्तो कम्प्युटरको गेम, आइफोनको गेम, भिडियो गेम आदि इत्यादी | आज हातमा पुरा संसार हेरिरहेको हुन्छु अनि कहिले त्यहि समयमा फर्किन्छु, पत्यार नै लाग्दैन यत्ति ठुलो परिवर्तन पनि देखिदोरैछ भनेर, फेरी थामिन्छु, अझै कति देख्नुछ, झेल्नुछ |

यो मस्तिष्कमा सम्झनाको सानो त्यान्द्रोले भ्याएसम्म बाल्यकाल देखि नै दुइ छाक नै भात खादै आएको सम्झिन्छु (कहिले कहिँ छुट्छ एक छाक) | सानो छँदा खूब दौडिन्थे, खूब खेल्थें, खूब भोक लाग्थ्यो अनि खूब खान्थें, भात | अझै खेल्न जादा बिचैमा भोक लाग्छ भनेर गोजीमा भुटेको मकै, भटमास प्राय छुट्दैन थियो | यस्तो लाग्थ्यो एक दिन भात खान पाइन भने त यो ज्यान न रहदैन | भातकै कुरा गर्दा एउटा प्रसङ्गले मलाई कहिल्यै साथ् छोड्दैन | बन्दिपुरको नोट्रे डेम स्कूलमा ८ कक्षामा पढ्दा होलि एन्जल्स होस्टेलमा बस्थें | त्यहि एक वर्षा मात्र पढेर छोड्दा होस्टेलका संचालक युजिन सरले "अरु त केहि हैन, होस्टेल बसेको पैसा यसले खाएरै उठायो" भनेको बाणी सम्झंदा म मनमनै हाँसी रहन्छु | त्यतिबेला पनि खूब खेल्थें, खूब दौडिन्थे, खूब भोकाउथे अनि खूब खान्थे |

मेरो शरीरको बनावट हेर्दा धेरैले एउटै प्रश्न तेर्स्याउछन, " तपाईं त फिटनेसमा लागेको मान्छे, यस्तो राम्रो शरीर छ, भात त खानुहुन्न होला है?" म हाँसेरै जवाफ दिन्छु, "मेरो फिटनेस भन्दा पहिला म नेपाली मान्छे हूँ | मेरो बाजेले मेरो बुबालाई त्यहि भात खुवाएर जन्माई हुर्काइ गर्नु भयो, मेरो बुबाले पनि मलाई त्यहि भात खुवाएर जन्माई हुर्काइ गर्नु भएको हो | म नेपाली भएरै, भात खाएरै यो उमेरसम्म आइपुगेको छु | पस्चीमेली मुलुकमा जन्मेको भए पास्ता, पाउरोटी, बेकन, हट डग, बर्गर खाएर हुर्किन्थे | शायद तपाइको भातको कथा पनि त्यत्ति फरक नहोला | " मेरो जवाफ सुनेर कति त हास्छन, कतिले सहि पनि थाप्छन |

हाम्रो जीवनशैली परिवर्तनशील छ, मैले जस्तै धेरैले त्यो गोरखाको अन्धकार देखि आइफोन सम्म परिवर्तन भोगेका छन् | नया नया बैज्ञानिक अविष्कार हरु संगै हामी पनि द्रूत गतिमा परिवर्तन हुदै छौं, शरीरको बनावटमा पनि परिवर्तन आउदैछ, अनि हाम्रो खानको परिकार पनि निकै बढ्दै गैरहेको छ | तर शारीरिक क्रियाकलाप भने निकै नै घट्दो छ | मोटर साइकल, कार र अन्य यातायातको साधन अत्यन्त सर्ब सुलभ भैसकेको छ | कुनै शारीरिक क्रियाकलाप, व्यायाम तथा खेलकूद बिना भात लगायत त्येत्तिका खाध्य बस्तुहरु त्यो सानो पेटमा कसरि भण्डार होस् ? केहि उर्जा बन्छ, केहि निस्किन्छ दिसा पिसाब बनेर, केहि भित्रै बस्छ बोसो जमेर |

यसरि बिस्तारै शरीरको तौल बढ्दै जान्छ, भुँडी छाती भन्दा बाहिर निस्कदै जान्छ, त्यो तौलको अंकलै ठ्याक्क BMI को सूत्रमा राखेपछि मोटोपन भयो भनेर देखाइदिञ्छ | अनि हामी नेपाली सबैभन्दा पहिलो दोष बाउबाजे देखि खादै आएको त्येही सेतो भातलाई एक्लो दोषी ठहर्याउदछौ | त्यो भात संगै र अनेक समयमा पेट भित्र घुस्रेका अनेक बस्तुहरुलाई बिर्सिन्छौँ, आफ्नो शारीरिक क्रियाकलाप लाइ त फर्केर हेर्ने चेष्टा पनि गर्दैनौं | पार्टीमा गयो भने अनेक गरी बनाएको, अनेकौ तेल र घ्यूमा बनाएको परिकार मुख मिठ्याई मिठ्याई खान्छौं, अलि चिल्लो देख्यो भने कागजले तेल सोसेर खाने चेष्टा गर्छौं | रेष्टुरेन्ट चाहर्दै जति नै महँगो भए पनि, जति नै चिल्लो भए पनि, म:म मा बोसो र बटर मिसाए पनि र्याल काढी काढी खान्छौं, अनि घरमा आई त्यहि भातलाई दोषी ठहर्याई राति ४-५ वटा रोटि खान्छौं | मोटोपनले निम्त्याउने रोग पश्चात डाक्टरलाई जचाउन जादा जान्ने बुझ्ने डाक्टरले पनि त्यहि भातलाई दोष दिन्छन | प्राय सबैको मानसपटलमा यहि छ, "हामी नेपालीको दुई छाक भात खाने संस्कार नै नराम्रो |"

हाम्रो मोटोपनको समस्या भातमा होइन, हाम्रो सोचाइमा छ, भात खाने मात्रामा छ, प्राय सबै चिल्लो र अत्तिनै गुलियो मिठाइ खाने संस्कारमा छ, अरुलाई भात खुवाउदा जबर्जस्ति थपि थपि खुवाउने संस्कृतिमा छ, मन राख्न भए पनि अटसमटस गरि थपेर खाइदिने प्रवृत्तिमा छ, खाएर दंग्रंग ढलिदिने बानीमा छ, नियमित व्यायाम नगर्ने जीवनशैलीमा छ | एक छाक मात्र किन दुई छाक नै छोडेर पनि मोटोपनको समस्या घट्ने होइन | मोटोपन घटाउने हेतुले खादै नखाई बस्नु वा आफ्नो शरीरलाई चाहिने भन्दा कम पौष्टिक आहार खानु समस्याको समाधान कदापी होइन | यसरि त शरीर झनै कम्जोर र शिथिल हुदै जान्छ, शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमि आउदै जान्छ | यो हामी कदापी चाहदैनौं | हाम्रो शारीरिक बनावट र भौगोलिक बातावरणका कारण हामी आफ्नो शरीरलाई छिट्टैनै स्वस्थ राख्न सक्ने सामर्थ्य राख्दछौं | खानपिनमा र नियमित व्यायाम मा अलिकति मात्रै पनि ध्यान दिने हो भने हाम्रो नेपाली शरीरले छिट्टै नै नतिजा देखाइहल्छ | आफ्नो जीवनशैली र मोटोपनको दोष त्यहि सेतो भात माथि मात्र थोपर्दा हामीलाई हुर्काउने बढाउने भात माथि अन्याय होला | मलाई फेरी पनि त्यहि प्रश्न गर्नुहुन्छ भने म हरेक पटक त्यहि उत्तर दिनेछु, म नियमित वजन युक्त व्यायाम (WEIGHT TRAINING) गर्न सकूँ, दुई छाक नै भातको आनन्द लिन सकूँ |

- संजित श्रेष्ठ

image source-google.com